Shittalpati
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग

पाल्पा, होटल व्यवसायी तथा पत्रकार जीवलाल सुवेदीले वृद्धाश्रमलाई स्वर्गिय मातापिताको स्मृतिमा युरोगार्ड सहयोग गरेका छन् । तिनाउ गाउँपालिका ६ मस्याम निवासी सुवेदीले आफ्नो माता स्व. छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका हुन् ।

शुक्रबार तानसेनको भुषालडाँडामा रहेको वृद्धाश्रमै पुगेर सुवेदी र उनको श्रमिति सरस्वती सुवेदीले केन्द्रका संयोजक देवप्रसाद बज्राचार्य र सदस्य डिला कुमारी खातीलाई एक सेट युरोगार्ड हस्तान्तरण गरेका छन् । आश्रममा बस्ने वृद्धवृद्धाहरुको लागि स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले आमाबुबाको स्मृतिमा युरोगार्ड सहयोग गरेको जीवलाल सुवेदीले बताए । होटल मोनिकाका सञ्चालन समेत रहेका सुवेदीले वृद्धवृद्धाहरु आफैमा अस्वस्थ र असशक्त हुने भएकाले उनीहरुको स्वास्थ्यको हेरचाह नै महत्वपूर्ण हुने भन्दै युरोगार्ड सहयोग गरेकोे बताए । उनले युरोगार्डको प्रयोगबाट केही हदसम्म भए पनि आश्रममा बस्ने वृद्धवृद्धाहरुले स्वच्छ पिउने पानी खान पाउने विश्वास व्यक्त गरे । युरोगार्ड ग्रहण गर्दै केन्द्रका संयोजक देवप्रसाद बज्राचार्यले वृद्धाश्रमप्रति सुवेदी परिवारले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्वाद व्यक्त गरे । उनले वृद्धाश्रमका लागि आवश्यक भवन निर्माण भइसकेको र केही काम मात्र बाँकी रहेकाले छिट्टै नै वृद्धवृद्धाहरुलाई भवनमा राखिने बताए । केन्द्रकी सदस्य डिला कुमारी खातीले वृद्धाश्रम विशुद्ध सामाजिक संस्था भएकाले सबैलाई सहयोग गरिदिन आग्रह गरिन् । उनले वृद्धाहरुको सेवा नै मानविय धर्म भएकाले सहयोग गर्न चाहने व्यक्ति, संघसंस्थाहरुले तानसेन १ भुषालडाँडामा रहेको केन्द्रमा आई सहयोग गर्न सक्ने बताईन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update