Shittalpati
जोखिम बढेपछि सजग भएर कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

पाल्पा, कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सजग भएर कारोबार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंकले सोमबार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुँने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावत सकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न भनेको हो । आफ्ना सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न गराउन राष्ट्र बैंकले भनेको छ । कर्मचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउनेलगायतको उपाय अबलम्बन गराउन राष्ट्र बैंकको निर्देशन छ । बैंकहरूले आफ्ना एटीएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यू पेपरको व्यवस्था गर्न पनि भनिएको छ ।

बैंकहरूले गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म भर्चुअल गर्न भनिएको छ । बैंकहरूले कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समूहलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने छ । अत्यावश्यकीय कार्यको निरन्तरताका लागि विस्तृत कार्ययोजनासहितको कन्टिजेन्सी प्लानलाई समयानूकूल अद्यावधिक गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई सजग हुन आग्रह गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update