Shittalpati
कोरोनालाई सामान्य नठानौं

एक वर्ष अघिदेखि भित्रिएको कोरोना महामारीले विश्व नै आक्रान्त बनाएको छ । पहिलो लहरको कोरोना कहर लगभग लगभग समाप्त भएर सामान्य अवस्था बन्दै गर्दा पुनः अर्को लहर सुरु भएको छ । दोस्रो लहर सुुरु भइसके पनि यसबाट कसरी सुरक्षित रहने भन्नेमा भने सबै अन्योलकै अवस्थामा छन् । नेपालले पछिल्लो दुई सातादेखि दोस्रो लहरको सामना गरिरहेको छ । यहाँ सर्तकताका कुनै पनि उपायहरु अवलम्बन गरिएको छैन । यो आफैमा दुखद् हो । यहाँ परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा बढीलाई कोरोना देखिन थालेको छ । अझ त्यसमा पनि १८ वर्षमुनिका बालबालिका बढी संक्रमित हुने गरेका छन् । यसले पनि थप चुनौती थपिदिएको छ । अब अत्यन्त भिडभाड हुने र जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ सतर्कता अपनाएर, गतिविधि नगर्न बाध्यात्मक अवस्था सिर्जना गरेरै भए पनि पछिल्लो लहरको संक्रमणलाई नियन्त्रण गर्नु जरुरी छ ।


अहिलेको अवस्थालाई सही मूल्यांकन गरेर सुरक्षित उपाय अवलम्बन गर्न सकेनौं भने कोरोनाले फेरि एकपटक हामी सबैलाई एकैसाथ आक्रमण गर्न सक्ने पक्का छ । त्यतिखेर आफैंलाई धिक्कार्नेबाहेक हामी कसैसँग पनि विकल्प रहने छैन । तसर्थ सरकारलाई दवाब दिँदै आफैं सुरक्षित हुनेतर्फ सोच्नु आजको आवश्यकता हो । छिमेकी भारतमा उच्च दरमा संक्रमण फैलिसकेकाले यसको स्वाभाविक असर नेपालमा परेको छ । संक्रमण र मृत्युदरको अनुपातले थप केही दिन यस्तै गति लिइरहने हो भने नेपाल थप जटिल अवस्थामा पुग्ने निश्चित छ । संक्रमण दर बढिरहेकाले यसलाई सामान्य ठान्नु हुँदैन । शैक्षिक संस्थाहरूमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाइएको छैन । बजारमा भीड बढिरहेको छ । कोरोना भनेको सामान्य रहेछ र यो लागे पनि सजिलै निको हुन्छ भन्ने आम बुझाइले जोखिम बढाउन मद्दत पु¥याएको छ । अब पनि कोरोना संक्रमणको अवस्थालाई सामान्य लिने हो भने ठूलै मानविय, भौतिक र आर्थिक क्षति व्यहोर्नु पर्ने देखिन्छ । तसर्थ सबैले आ–आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update