Shittalpati
बढ्दो दुर्घटना रोकौं

पछिल्ला दिनहरुमा सवारी दुर्घटनामा निकै वृद्धि भईरहेको छ । सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको लापरवाही नै हुन् । केही दिन अघि प्यूठानमा भएको जीप दुर्घटनामा ५ जनाले ज्यान गुमाउन पुगेका छन् । नयाँ वर्षको पहिलो दिन गुल्मीको तम्घासदेखि प्यूठानको स्वर्गद्वारीका लागि हिडेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहित ५ जनाको अकालमै ज्यान गएको थियो भने १२ जना घाइते अवस्थामा रहेको जनाइएको छ । त्यस्तै सोही दिन गुल्मीको सत्यवती गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने ५ जना घाइते छन् । यि त पछिल्ला केही प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाहरु देशभरि नै दैनिकरुपमा घटित भैरहेका छन् र कयौँ नागरिकहरुको ज्यान गैरहेको स्थिति छ ।

सडक यातायात असुरक्षित बन्दै गएका कारण सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीले अकाल मृत्युवरण गर्नु परेको छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठूलो क्षति भइरहेको छ । सडक दुर्घटना बढ्न पुग्नुमा प्रायः चालकहरुकै लापरवाही देखिएको छ, भने केहीमा नागरिकहरुको गल्तीका कारणले पनि त्यस्ता घटनाहरु घटित हुन पुगिरहेका छन् । प्रायः साधनहरु तीव्र गतिमा रहने गरेको हुँदा अनियन्त्रित हुने गर्छन् र दुर्घटनाको शिकार हुन्छन् । कतिपय सवारीसाधनका चालकहरुले मादक पदार्थ सेवन गरेर चलाउने, गाडी चलाउँदा चलाउँदै मोबाइलमा व्यस्त रहने गरेको हुँदा पनि दुर्घटनाहरु भैरहेका छन् भने कतै चालक निदाएर पनि घटनाहरु घटिरहेको देखिन्छ । अब यस्ता घटनाहरु रोक्नका लागि समयमै सबैले ध्यान दिन जरुरी छ । दुर्घटनामा कमी ल्याउनका लागि भरपर्दो र विश्वसनीय आधारसहित चालकहरुलाई सबैले बढी जिम्मेवार बनाउनतर्फ ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update