Shittalpati
पाल्पामा शिक्षक परीक्षामा भएको धाँधली विरुद्ध अख्तियारमा उजुरी

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा शिक्षकका लागि लिइएको परीक्षामा धाँधली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको एक महिना वितिसक्दा समेत सम्बन्धित निकायले छानविनमा चासो नदेखाएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी परेको हो ।
गत चैत ५ गते नेपाली विषयको नि.मा.वि राहत शिक्षकका लागि लिइएको परीक्षामा आफ्ना निकट व्यक्तिलाई नियुक्त गरिएको भन्दै परीक्षामा सहभागीहरुले गुनासो गरेका थिए । उनीहरुले नतिजा छानविन गर्न जिल्लाका सम्बन्धित निकायसँग माग गरे पनि अहिलेसम्म त्यसको छानविन हुन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी दिएका हुन् । उनीहरुले शिक्षक छनौटमा भएको दुरुपयोगको छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएको बताएका छन् । पिडित परीक्षार्थीहरुले चैत २९ गते अख्तियारमा उजुरी दिएका थिए । उजुरी दर्ता भई छानविनका लागि प्रक्रिया अगाडि बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी सुरेश भूषालले बताए ।

परीक्षामा अनियमिता भएपछि नतिजा छानविन गर्न प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिइए पनि त्यसको अहिलेसम्म पनि सुनुवाई नभएपछि अख्तियारमा उजुरी दिइएको परीक्षामा सहभागी भएकी पिडित विद्या बस्यालले बताईन् । सम्पूर्ण परीक्षार्थीहरुकोतर्फबाट बस्यालद्वारा हस्ताक्षरित पत्रमा विवादका कारण पटक–पटक स्थगित हुँदै आएको परीक्षा चैत ५ गते १० बजे भनिए पनि ढिला गरी दिउँसो १ बजे मात्र सुरु गरिएको, बहुवैकिल्पक प्रश्नमा उत्तरकुञ्जिका नदिई रेजा (चिन्ह) लगाउन भन्दै त्यसमा परीक्षार्थीको नाम लेख्न समेत बाध्य पारिएको जनाइएको छ । ‘प्र.अ.का श्रीमान र परीक्षामा उर्तिर्ण गराइएकी परीक्षार्थीको श्रीमान दिनभर परीक्षा केन्द्रमा कर्मचारी भन्दा बढी अधिकार लिए जसरी विषय विशेषज्ञहरुसँग सँगै रहेको र उनीहरु सहित गाउँपालिकाका शिक्षा शाखा प्रमुख समेतको मिलेमतोमा परीक्षामा धाँधली गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुखलाई परीक्षाका बारेमा जिज्ञासा राख्दा अमानविय र तुच्छ भाषामा अदालत र प्रशासनमा जानका लागि धम्कीपूर्ण भाषा प्रयोगले आफुहरुलाई अत्यन्त दुखी बनाएको परीक्षार्थीहरुले बताएका छन् ।
उनीहरुले यस अघि प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे समक्ष नतिजा छानविन गर्न माग गर्दै पत्र पठाएका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले यस विषयमा छिट्टै प्रारम्भिक अनुसन्धान गर्ने बताएका थिए । उनले प्रारम्भिक अनुसन्धानका लागि शिक्षा विकास समन्वय इकाईमा परीक्षाको विषयमा सम्पूर्ण विवरण खुलाई पत्र पठाउन निर्देशन दिएका थिए । तर शिक्षा विकास समन्वय इकाईले भने सम्पूर्ण परीक्षाको व्यवस्था गाउँपालिका आफैले गरेको भन्ने निर्देशन आएकोले त्यस विषयमा गाउँपालिकाले नै छानविन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

नियमको उलङ्घन गर्दै बहुवैकिल्पक प्रश्नमा उत्तरकुञ्जिका नै नदिई रेजा (चिन्ह) लगाउन भन्दै त्यसमा परीक्षार्थीको नाम समेत लेख्न बाध्य बनाइएको परीक्षामा सहभागी कोपिला भट्टराईले बताईन् । उनले भनिन् ‘कोडिङ्ग प्राणानी नै नअपनाई उत्तरपुस्तिकामै परीक्षार्थीको नाम लेख्न लगाइयो, यो सरासर आफ्नो निकट व्यक्तिलाई राख्ने नियतले गरिएको हो ।’ विद्यालयका प्रअ, विषय विशेषज्ञहरुको मिलेमतोमा परीक्षामा धाँधली गरिएको अर्को परीक्षार्थी पावर्ती पाण्डेले बताईन् । उनले नियम विपरित परीक्षा सञ्चालन गर्दा दक्ष र सक्षम परीक्षार्थी बाहिरिनु परेको गुनासो गरिन् । विद्यालयले गत वर्षको मंसिरमा शिक्षकका लागि आवेदन माग गरे पनि विषय विशेषज्ञ छनौटको विवादका कारण दुई पटकसम्म परीक्षा स्थगित गर्दै आएको थियो । अहिले सो परीक्षा चैत ५ गते लिइएको हो । शिक्षकका लागि १७ जनाले आवेदन दिए पनि बेला बेलामा भएको विवादका कारण परीक्षा स्थगित हुँदै आएपछि अन्तमा ९ जनाले मात्र परीक्षा दिएका थिए । परीक्षामा योग्य र सक्षम व्यक्तिलाई पाखा लगाउदै आफु निकटका व्यक्तिलाई नियुक्त गरिएको परीक्षार्थीहरुको गुनासो छ । उनीहरुले विद्यालयका प्रअ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख र विषय विशेषज्ञहरुको मिलेमतोमा आफु निकटको व्यक्तिलाई शिक्षकमा नियुक्त गरिएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update