Shittalpati
रामपुरमा पनि जनगणना कार्यालय खोलियो

पाल्पा, राष्ट्रिय जनगणना २०७८ को लागि पाल्पाको रामपुरमा पनि कार्यालय खोलिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पाको रामपुरमा पनि कार्यालय स्थापना भई काम सुरु भएको हो । १० स्थानीय तह रहेको पाल्पामा जिल्ला जनगणना कार्यालय र जिल्लाका अन्य ४ स्थानमा कार्यालय खोली जनगणनाको काम अगाडि बढेको हो । स्थानीय जनगणना कार्यालय रहने व्यवस्था अन्तर्गत रामपुर नगरपालिका र निस्दी गाउँपालिका हेर्ने गरि रामपुर, पूर्वखोला, रम्भा र माथागढी हेर्ने गरी ताँहुमा, तानसेन, तिनाउ र बगनासकाली हेर्ने गरी तानसेनमा र रिब्दीकोट र रैनादेवी छहरा हेर्ने गरी अमलावासमा स्थानीय जनगणना कार्यालय खोलिएको जिल्ला जनगणना कार्यालय पाल्पाका जनगणना अधिकारी भविश्वर घिमिरेले बताए । जनगणनाका लागि रामपुरमा रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकल काफ्लेलाई फोकल पर्सन तोकिएको छ । रामपुर नगरपालिकामा १३ सुपरिवेक्षक र ४२ जना गणक, निस्दीमा ६ सुपरिवेक्षक र २४ जना गणक खटाएर जनगणनाको तथ्याङ्क लिइने जनाइएको छ ।

गणकले तथ्याङ्क संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्ने छन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने छन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् । यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र बनाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update