Shittalpati
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त

गुल्मी, गत बुधबार प्यूठानको स्वर्गद्वारी रुमालेमा भएको दुर्घटनामा मृत्युभएका राष्ट्रसेवक कर्मचारीप्रति शोक व्यक्त गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो । नयाँ वर्ष मनाउन गएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने, गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–३ का २२ वर्षीय चालक केशव कार्की, रेसुङ्गा नगरपालिका वडा नम्बर–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, मालिका गाउँपालिका वडा नम्बर–७ का ३५ वर्षीय यमलाल पन्थीको मृत्यु भएको थियो । १२ जना घाइते भएका थिए ।


संघका जिल्ला अध्यक्ष मेघला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उपचारमा लाग्ने सबै प्रकारका खर्चहरु निःशुल्क रुपमा उपलब्ध गराउन र मृतकका परिवारले पाउँने सबै प्रकारका सुविधाहरु उपलब्ध गराउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय गुल्मीलाई अनुरोध समेत गरिएको छ । दुर्घटनाले नेपाल निजामती कर्मचारी युनियन गुल्मीलाई मात्र नभएर समग्र राष्ट्रलाई नै अपूर्णनीय क्षति पुर्‍याएको ठहर गर्दै युनियनले यस्ता प्रकारका दुर्घटनाहरु आगामी दिनमा न्यूनिकरण गर्नका लागि दुर्घटनाका कारण र त्यसलाई निराकरण गर्ने उपायहरु खोजी गरी त्यसलाई कडाइका साथ लागू गर्न र गराउन संघले जोडदार माग समेत गरेको छ । साथै दुर्घटनाको कारणको खोजी गरी कहिकतै कसैको कमजोरी र लापरवाही भएको भए त्यसलाई कानुनको दायरामा लिनका लागि सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ । सबै कर्मचारीहरुलाई उच्च मनोबल कायम राखी राष्ट्र र जनताको सेवामा लाग्न, मृतक र घाइतेको परिवारलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न युनियनले अपिल समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update