Shittalpati
विश्व सम्पदा दिवसको सार्थकता

आज विश्व सम्पदा दिवस विश्वभर मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा नेपालमा पनि मनाईने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाइने गरे पनि सम्पदा संरक्षणमा कसैको पनि ध्यान जान सकेको छैन ।

नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइसकेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले नेपालमा भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् । उदाहरणका रुपमा पाल्पाको ऐतिहासिक रानीमहललाई लिन सकिन्छ । यहाँ पछिल्लो समय पहिरो, बाढी तथा कटानका कारण रानीमहल क्षेत्र जोखिममा रहेको छ । यसको संरक्षणमा कालीगण्डकी नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र दुवैतिर वैज्ञानिक कदम चाल्नुपर्ने देखिन्छ । यहाँ अन्य केही महत्वपूर्ण सम्पदाहरू रहेका छन्, जो अहिले अति जोखिममा छन् । प्राकृतिक ग्याँस, पेट्रोलिएम पदार्थ तथा विभिन्न मेटालिक र ननमेटालिक धातुजन्य र मिनरलजन्य पदार्थहरूको सम्भाव्य स्थानहरूको पनि विभिन्न निकायहरूबीचको संयोजनकारी पहलमा संरक्षण र विस्तृत अध्ययन गर्न जरुरी छ । सडक विस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । यसर्थ हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्न सके मात्र विश्व सम्पदा दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update