Shittalpati
स्वाधिनता कायम गर

कोरोना महामारीको दोस्रो संस्करणले गर्दा नेपाल पनि अत्यन्तै भयावह अवस्थामा पुगेको भान हुन थालेको छ । यस्तो गम्भीर अवस्थाप्रति सरकार र सरोकारवाला कसैले पनि आवश्यकता अनुसारको महत्व दिन सकेका छैनन् । एकातर्फ मूलुक राजनैतिक अस्थिरताको शिकार भएको छ भने, अर्को तर्फ महामारीहरु फर्की फर्की आएका कारणले आर्थिक अवस्था दिन प्रति दिन गम्भीर हँुदै गएको छ । यसका लागि तीनै तहका सरकारहरु पनि निरीह जस्तै भएका छन् ।
समस्याको समाधानमा कसैको पनि ध्यान जान नसक्नु आफैमा समस्या माथि समस्या थपिएको हो कि भन्ने चिन्ता र चासो सर्वत्र फैलिदै गएको छ । नेपालका कम्यूनिष्टहरुमा देखिएको वैमनुश्यता अनि सरकारले गरेका हरेक क्रियाकलाप गैर जिम्मेवार भएका कारण पनि समस्याहरु आएका हुन । यस्ता समस्याहरुको दीगो निराकरण तर्फ कसैको पनि ध्यान जान सकेको छैन । विकास निर्माणका लागि विनियोजित बजेट समयमा खर्च भएको छैन । त्यस कारण बजारको मूल्य अस्थिरता तर्फ धकेलिने सूचकहरु अगाडि आएका छन् । दुई तिहाईको सरकार पनि अल्पमतको शिकार हुने खतराले गर्दा नेताहरुमा लुछाचुडीको भावनामा विकास भए पनि अरु भौतिक र मानवीय विकासका सूचकमा भने पछाडी धेकेलिने बाहेक अरु केही पनि हुन सकेको छैनन् । मूल्यवृद्धि प्रति जनता पनि मौनता साधेर स्वीकृतीको पगरी गुथी रहेको अनुभूत हुन्छ भने शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भएका प्रगतिहरुमा प्रतिगमनका नकारात्मक शैलीहरुले दादागीरी देखाई रहेकाछन् । यस्तो अवस्थालाई समयमै ध्यान दिएर सच्याउँने तर्फ नलाग्ने हो भने देशको भूगोल र माटो फरक भए पनि स्वाधीनताले गुलामी बाहेक अरु केही पनि पाउन नसक्ने अवस्थाले आफ्नो आकार फराकिलो बनाई रहने खतरा रही रहन्छ । त्यस कारण देश र जनताकालागि भए पनि नीति नियम बनाउँने र कार्यान्वयन गर्ने निकायले स्वाधिनता कायम राख्नैपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update