Shittalpati
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित

 

 

गुल्मी, शितलपाटी डटकम/नव जनचेतना राष्ट्रिय दैनिक गुल्मीका संवाददाता रमेश विश्वकर्मा ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ गुल्मीले सम्मान गरेको हो ।

महासंघले पद हस्तान्तरण कार्यक्रमको अवसरमा पत्रकारिताको माध्यमबाट जिल्लाको सामाजिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै विश्वकर्मालाई नगद राशी सहित दोसल्ला ओडाएर सम्मान गरिएको महासंघ निवर्तमान अध्यक्ष नवराज भुषालले जानकारी दिए ।

विश्वकर्माले जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट समाजका विकृती तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पुर्‍याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले बताए । विश्वकर्मा नेपाल प्रेस युनियन गुल्मीका सचिव समेत हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पुरस्कार स्थापना गर्ने र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भुसाल लगायतलाई धन्यवाद सहित आभार व्यक्त गरेका छन् । साथै उनले यो सम्मानले आफुलाई पत्रकारिता क्षेत्रमा थप जिम्मेवारी बोध गराएको उल्लेख गरेका छन् ।

कार्यक्रममा जिल्लामा क्रियाशिल अन्य पत्रकारहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा ‘केशरजित उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट जनार्दन घिमिरे, हुमाकान्त पोखरेल र सूर्य सुनार रहेका छन् । त्यस्तै ‘उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार’ बाट महेश बोहोरा र प्रेम सुनार, ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ बाट अनिता खत्री, ‘उत्कृष्ट ग्रामिण पत्रकारिता पुरस्कार’ बाट युगराज बस्याल सम्मानित भएका छन् । कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष भुसालले नवनिर्वाचित अध्यक्ष टोपलाल अर्याललाई पद र निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रावदेवी शर्मा, प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला संगठन गुल्मीले पनि नवनिर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update