Shittalpati
२०७७ बिर्सन लायक वर्ष

२०७७ साल हामी माँझबाट बिदा भएको छ । बिर्सन लायक समयको झोला बोकेर यो वर्ष बिदा भएको छ । चिनको बुहानबाट फैलिएको कोभिड १९ महामारीले यति बेला विश्वसँगै नेपाल पनि त्रसित छ । अहिले कोरोनाका कारण विश्व तहसनहस भएको छ । मानिसमा भय, त्रास र आतंक अझै पनि कायमै छ । मानिसहरू अनाहकमा मृत्युवरण गर्न विवश भएका छन् । संक्रमितको संख्या बाढी जस्तै बढ्दो छ । विश्व परिवेश र परिदृश्यबाट हामीले थुप्रै पाठ सिक्न जरुरी छ । यतिबेला युरोपीएन मुलुकहरुले कोभिडको दोस्रो चरणको सामना गरिरहेका छन् ।


नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । बेलायतमा देखा परेको विशेष किसिमको सक्रिय भाइरसले यतिबेला थप सन्त्रास फैलाइरहेको छ । त्यति मात्र होइन अर्थतन्त्रलाई नै नराम्रोसँग प्रभावित बनाएको छ । विश्व अर्थतन्त्रमा आएको संकटले नेपालको पर्यटन, उद्योग, व्यापार र सानातिना रोजगारीका केन्द्रहरू पनि सांघुरिएका छन् । कोभिड–१९ को प्रभाव अझै पनि हाम्रो चुलोमा स्पष्ट देखिने गरी जिउँदै छ । समष्टिगत अर्थतन्त्रका सूचक हेरेर परिवारको भान्सा–भान्सामा प्रवेश गरेको संकटको वास्तविक चित्र केलाउन हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशमा असम्भवप्रायः छ, । कोरोनाको निर्ममताको यो हृदय विदारक अवस्थाबाट हामीले पनि सिकौं । सरकारलाई गाली गरेर क्षणिक सन्तुष्टी त मिल्ला तर सजग रहने आफैँ हो । कोरोनाको मारमा अरू क्षेत्र जस्तै सञ्चार क्षेत्र पनि रह्यो । नेपालमा सञ्चार क्षेत्रले अहिले पनि यसको प्रभावको चर्को सामना गरिरहेको छ । कतिपय सञ्चार माध्यम बन्द भए भने कतिपयले संकटको सामना गरिरहनु परेको छ । यही वर्षको अन्त्य तिर आएर सत्तारुढ दलको नेकपा विभाजन र संविधानमाथि धाबा बोल्दै संसद् विघटन गरिएको घटनाले नेपालीलाई थप हतोत्साही बनायो । धेरै कोणबाट हेर्दा यो वर्ष बिर्सन लायक रह्यो । आशा गरौँ, आगामी वर्ष मानव समुदायले यो समस्याबाट पार पाउनेछ र नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछ । सरकारले पनि पाठ सिकोस् । गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखोस् । हामीले बेवास्ता गरिरहे हामीसँग त्यही आघात हात लाग्ने छ, जुन पाँच वर्ष अघिको भूकम्पपछि हात लागेको थियो । जे–जे सम्भव छ, सिकौं र व्यवहारमा लागू गरौं । महामारीको रुपमा रहेको विपत्तिलाई पाठका रूपमा लिँदै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणको तयारीमा लागौं सम्पूर्णमा नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update