Shittalpati
कोरोनासँग लड्न सचेतना अपनाऔँ

कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । छिमेकी मुलुकहरुमा संक्रमण दर बढ्दै गएपछि त्यसको असर नेपालमा पनि देखिएको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । कोरोना भाइरस संक्रमण अहिले तीन सयको हाराहारीमा पुग्नु र भारतलगायत विदेशबाट भित्रिने नेपालीमा संक्रमण देखा पर्नुले कोरोनाको जोखिम बढ्दै गएको प्रष्ट हुन्छ ।

यसै पनि नेपाल भारतसँगको खुला सीमाका कारण संक्रमणको जोखिममा रहँदै आएको छ । केही महिनायता विस्तारै संक्रमण दर घट्न थालेपछि सरकार र नागरिक दुवै निश्चिन्तजस्ता देखिन थालेकैले अहिले चिन्ता गर्नुपर्ने अवस्था आएको हो । यसबीचमा आम नागरिकहरु कोरोनाको कुनै परवाह नगरी कैयौं ठूला सभा–सम्मेलनहरू सहभागी भए, जहाँ व्यक्तिगत दूरी कायम गर्नु त परको कुरा, मास्कसमेत लगाउन छाडिएको थियो । यो प्रवृत्ति अहिले पनि कायमै छ । संक्रमण दर फेरि उकालो लाग्न थालेपछि सरकारले ठूला भेलाहरू नगर्न आग्रह गरेको भए पनि त्यसको बेवास्त गरिएको छ । पछिल्लो समय २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन स्वास्थ्य मन्त्रालयले गरेको आग्रहलाई सम्बन्धित सबैले मनन् गर्नुपर्छ । घरबाहिर निस्किँदा हरेकले जनस्वास्थ्यका मापदण्डहरूको ख्याल राख्नुपर्छ । अनिवार्य रूपमा मास्क लगाउन, बेलाबेलामा हात धुन वा ‘स्यानिटाइजर’ प्रयोग गर्न र व्यक्तिगत दूरी कायम राख्न कसैले पनि असहज मान्नु हुँदैन । बजार, भीडभाडमा जाँदा होस् या सार्वजनिक यातायात चढ्दा विशेष सतर्कता अपनाउनै पर्छ । एक व्यक्तिको लापरवाहीबाट सिंगो समाज नै प्रभावित भएकाले यस्तो संवेदनशील विषयमा हेलचेँक्रयाइ गरिनु दुर्भाग्य हुनसक्छ । आफू र आफ्नो परिवारको सुरक्षाका विषयमा हरेक व्यक्ति गम्भीर हुन आवश्यक छ । अन्यथा विगतको जस्तो कहर व्यहोर्नुपर्ने हुन सक्छ । तसर्थ कोरोनासँगको लडाई जित्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सचेतना अपनाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update