Shittalpati
नेपाल निजामती कर्मचारी युनियनको भित्तेपात्रो विमोचन

गुल्मी, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति गुल्मीले नयाँ बर्ष २०७८ को भित्तेपात्रो बिमोचन गरेको छ । युनियनले शनिबार एक औपचारिक कार्यक्रम बिच भित्तेपात्रो बिमोचन गरेको हो ।

भित्तेपात्रो नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ र युनियन जिल्ला अध्यक्ष मेघलाल पाण्डेले संयुक्त रुपमा विमोचन गरेका थिए । भित्तेपात्रो विमोचन गर्दै कार्यक्रममा सभापति श्रेष्ठले कर्मचारी अन्यायमा परेको महशुस भइरहेको बताएका छन् । उनले कर्मचारीलाई नेपाली काँग्रेसले उत्साहित गर्न नसकेको पनि धारणा व्यक्त गरे । नेपाली काँग्रेसले तोकिएको समयमा अधिवेशन गर्न नसकेको भन्दै काँग्रेसप्रति शुभेच्छुक संस्थाको अवस्था पनि त्यस्तै रहेको सभापति श्रेष्ठले भनाई छ । कार्यक्रममा बिशेष अतिथि नेपाल निजामति कर्मचारी युनियन संघका पुर्व केन्द्रीय उपाध्यक्ष जयश्वर पन्थीले नेपाली काँग्रेस सरकारमा नभएकाले असुरक्षा महशुस भएको बताएका छन् ।

संस्थागत कमजोरीले व्यक्ति अन्यायमा परेको भन्दै पेशागत रुपमा आवाज उठाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य तथा महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारीले प्रक्रियासँग अगाडि बढेर काम गर्ने कर्मचारी निडर भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी बढुवा भएकाले उनीहरुलाई बधाई दिनुका साथै सम्मान गरेका थिए । कार्यक्रममा युनियनका अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षता तथा ईश्वरी भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update