Shittalpati
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकैपटक १ सय ६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १ सय ६५ सडकको शिलान्यास गरेका हुन् । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।

उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५ सय १२ किलोमिटर भएको जानकारी दिए । उनका अनुसार ६ सय २८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५ सय १२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३ सय किलोमिटर ग्राभेल सडक, एक हजार ६ सय ८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए । प्रधामन्त्री ओलीले पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताए । उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण संघीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो । –रासस

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update