Shittalpati
नैतिकता माथिको प्रश्न

सत्ता आरोहणपछि धेरै समयसम्म अस्वस्थ्य भएको बाहाना गर्ने प्रधानमन्त्री अहिले आएर राजनैतिक संकट समाधान भन्दा पनि आफु अब्बल भएको देखाउन देश व्यापी भ्रमण र सभामा भाषण गरी रहेका देखिन्छन् । यसले उनी राजनैतिक विचार भन्दा पनि आफ्ना तानाशाही पना लाद्ने ध्येयमा लागेको भन्ने सहजै बुझ्न सकिन्छ । नेपाली भू–राजनैतिक धरातलमा देखा परेका समस्याले गर्दा मूलुक नै समस्यामा पर्ने र लोकतन्त्र प्रतिको विश्वासमा कमी आउँने खतराहरु बढी रहेका छन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई कारवाहीको श्रृंखलालाई अगाडि बढाएकै कारण पनि समस्या माथि समस्या उत्पन्न हुन थालेका हुन । दिन प्रतिदिन ओली र उनको सरकारले नेताहरु प्रति कारवाहीका नाममा गरेको अराजकतापूर्ण कार्यले गर्दा अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैरास्यताको भूमरीबाट चिहाई रहँदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउँने हुन कि भन्ने चिन्ता र चासो बढेको छ ।

धेरै समय लाग्यो, संसद विघटन पछिको निर्णायक फैसला आउँने काममा ढिलाई हुनु, निर्वाचन आयोग र न्यायिक क्षेत्र समेत अन्यौलको वातावरणबाट अगाडि बढी रहनु नै जनता र देशका लागि अहित बाहेक केही पनि हुनसक्दैन । देश बनाउँने भन्दा पनि आफु बन्ने देशलाई दुर्गतीतर्फ लग्ने कार्य तत्काल रोक्नका लागि ओलीलाई प्रधानमन्त्रीबाट वर्हिगमन गर्ने बाहेक अर्को विकल्प देखिदैन । वर्तमान सरकारका प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी जस्ता राजनेताको अदुरदर्शिताले समस्या माथि समस्या थप्ने काम गर्नु आफैमा गलत हो । कोभिडको महामारीको त्रास कम नहुँदै आन्दोलन र सभा गर्नुपर्ने बाध्यातालाई यो सरकारले रोक्न नसक्नु पनि सबै भन्दा ठूलो दुर्भाग्य हो । यी सबै समस्याको दीगो समाधानका लागि नैतिकताको चिन्ता नेताहरुमा हुन जरुरी छ । राजनैतिक दलहरु यो वा त्यो भन्दा पनि प्रायः सबैले विगतका गल्तीको आत्माआलोचना गरेर नयाँ शैलीबाट अगाडि बढ्नुको विकल्प छैन । ओली पात्र मात्रै हुन, उनी जस्तै धेरै ओलीहरु भोली आउँने छन्, त्यस कारण नैतिकता बनाई राख्नु आजको आवश्यकता हो । यस विषयमा सबैमा चेतना भयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update