Shittalpati
वायु प्रदूषणको प्रभाव

वायु प्रदुषणको प्रभावले देशको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषणको मात्रा असोचनीय रुपमा फैलिइरहेको देख्न सकिन्छ । विज्ञहरुले हाल फैलिरहेको वायु प्रदूषणको स्थिति निकै अस्वस्थकर रहेको बताएका छन् । वायु प्रदूषण सर्वसाधारणको जनस्वास्थ्यलाई दृष्टिगत गर्ने हो भने निकै अस्वस्थकर स्तरसमेत हो ।विज्ञहरूका अनुसार यो समस्या अझै केही दिनरहन सक्छ । बाहिरबाट भित्रिएको धूवाँका कारण गत शुक्रबारदेखि निकै असहज महसुस भएको छ । मानिसहरूले आँखा र नाक पोलेको महसुस गरेका छन् । यस घातक धूवाँबाट बच्न सकेसम्म घरबाहिर निस्कनु हुँदैन, निस्कनै पर्दा पनि मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । सरकारले वायु प्रदुषणको असरलाई मध्यनजर गर्दै मंगलबारदेखि चार दिनका लागि देशभरका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

देशका अधिकांश जिल्लाहरुमा लागेको डढेलोको धूवाँ भित्रिएकाले पनि यस्तो देखिएको विज्ञहरुले आंकलन गरेका छन् । उनीहरुले यसमा भारतका विभिन्न ठाउँका डढेलोको प्रभाव पनि मिसिएको अनुमान लगाएका छन् । पश्चिमी वायुसँगै भित्रिएको धूवाँ मिसिएपछि प्रदूषणले घातक रूप लिएको छ । हावा जोड्ले नचलेका कारण प्रदूषणका कणहरू बाहिर जान नसकी वायुमण्डलको तल्लो तहसम्मै फैलिएका छन् । प्रदूषणकोस्तर यसरी भयावहरुपमा बढ्नुले विभिन्न जनस्वास्थ्यका समस्याहरुलाई निम्त्याइरहेको देखिन्छ । विशेषगरी, वायु प्रदूषणकै कारण फोक्सोको समस्यामा वृद्धि हुने, मुटुरोगको गम्भीर समस्या देखा पर्ने, त्यस्तै मस्तिष्क घात, निमोनियाजस्ता समस्याहरु बढ्ने गर्छन्, जुन प्रमुखरुपमा मृत्युको कारणसमेत बनिरहेको हुन्छ । वायु प्रदुषणका कारण थुप्रै हवाई उडान समेत प्रभावित भएका छन् भने सडकमा मानिसको चहलपहल निकै कम छ । यतिबेला सिंगो विश्वसँगै हामी पनि कोभिड—१९ महामारीको दोस्रो लहरलाई झेल्ने चुनौतीसँग लडिरहेका छौं । झन् वातावरण प्रदूषणको अर्को समस्याले हामीलाई गिजोलेको छ । यस्तो अवस्थामा समेत सरकार मूकदर्शक भएर बस्नु ज्यादै दुर्भाग्यपूर्ण छ । सर्वसाधारणको स्वास्थ्यप्रतिको यो खेलबाडले राज्य जनताप्रति कति उत्तरदायी छ भन्ने उदाहरणसमेत प्रस्तुत गरिरहेको छ भन्दा अन्यथा हुँदैन । तसर्थ, प्रदूषणलाई दीर्घकालीन रूपमा कम गर्न र यसको असरबाट बच्न नागरिकप्रति सरकार जन उत्तरदायी हुन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update