Shittalpati
साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा

पाल्पा,  जिल्लामा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा गरिएको छ । पद्म पब्लिक माध्यमिक विद्यालयमा रुम टु रिड नेपालको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राविधिक सहयोग र बेस नेपालको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा गरिएको हो ।
जिल्ला तथा स्थानीय सरोकारवालाहरुले उक्त कार्यक्रमको अनुगमन तथा समीक्षा गरेका हुन् । साक्षरता कक्षाको अनुगमनपछि जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मीरा मरासिनीले साक्षरता कार्यक्रमले विद्यार्थीहरुको सिकाई उपलब्धि बृद्धि गर्न सहयोग पुर्‍याएको र आगामी दिनमा जिल्लाका थप सामुदायिक विद्यालयमा विस्तार गर्नुपर्ने बताइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मरासिनीले साक्षरता कार्यक्रमलाई विस्तार गर्नका लागि आफु समन्वयका लागि तयार रहेको र स्थानीय सरकारबाट पनि पहल गर्नुपर्ने धारणा व्यक्त गरिन । समीक्षा बैठकमा बोल्दै तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठकले कक्षा कोठामा विद्यार्थीहरु र शिक्षकले गर्ने क्रियाकलाप राम्रो लागेको बताइन् । उनले आगमी दिनमा तानसेन नगर भित्रका सामुदायिक विद्यालयमा कार्यक्रम लागु गर्नका लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा शिक्षा तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले शिक्षकहरुको व्यवहारमै परिवर्तन गर्न सकेकोमा रुम टु रिड नेपाल र बेस नेपाललाई धन्यवाद दिए । ‘अहिले नयाँ आउने शिक्षकहरु विषय वस्तुको ज्ञानमा एक से एक छन्’ उनले भने तर अझै पनि विद्यार्थीहरुको नतिजा राम्रो बनाउन सकिएको छैन । उनले आगामी दिनमा जिल्ला भरीका विद्यालयमा साक्षरता कार्यक्रम लागु गर्न सकेमा विद्यार्थीहरुको सिकाई उपलब्धी वृद्धि हुने धारण व्यक्त गरे । कार्यक्रममा जिल्ला तथा स्थानीय सरोकारवालाहरुले रुम टु रिडको सहयोगले नै विद्यार्थीहरुको सिकाईकामा सकारात्मक परिवर्तन सुरु भएको बताएका थिए । बैंठकमा रुम टु रिड नेपालका साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले सन् २०२० मा भएको उपलब्धी, चुनौती र आगामी योजनाका विषयमा जानकारी गराएका थिए । समीक्षा बैठकमा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्याल, तानसेन नगरपालिका स्थित वडाका जनप्रतिनीधिहरु विद्यालयका प्रधानाध्यापक समेतले आ–आफ्ना धारणा राखेका थिए । बैठक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षता र बेस नेपालका साक्षरता कार्यक्रमका संयोजक भुपाल आलेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update