Shittalpati
कोरोना कहरमा श्रम गन्तव्य

कोरोना संक्रमण मानव समुदाय र विज्ञानका लागि अहिले एउटा मुख्य चुनौती बनेर देखा परेको छ । यसले विश्वको अर्थतन्त्रलाई धराशयी बनाइदिएको छ भने विश्वभरका लाखौँलाख मानिसलाई रोजगारी, आवास र गाँसवासबाट समेत विमुख बनाइदिएको छ। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारत लगायत श्रम गन्तव्य मुलुकहरुलाई यसले नराम्रोसँग गाँजेको छ । कोभिड– १९ का कारण सिर्जित समस्याले स्वदेशभित्र अझै पनि लाखौं युवा सुरक्षित भविष्यको पर्खाइमा बस्नुपरेको छ ।
विश्वव्यापी रूपमा फैलिएको यो महामारीले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ । गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुकमा कामदार जान पाएका छैनन् । विगतमा अवस्था सामान्य हुँदा दैनिक एक हजार पाँच सय जनासम्म युवा रोजगारका लागि बिदेसिने गरेका थिए । तर अहिले यो संख्या घटेर पाँच सयमा खुम्चिएको छ ।

जुन दुःख लाग्दो अवस्था हो । स्वदेशमा कोरोनाको कहर मत्थर भए पनि गन्तव्य मुलुकमा उस्तैरहेकाले यो समस्या आएको हो । कोभिडले भारत ,कतार, साउदी अरब, दुबई, ओमन मलेसिया तथा युरेपियन मुलुक प्रभावित भएका छन् । जापान, इजरायल र दक्षिण कोरिया पनि प्रभावित भएका छन् । इजरायल पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको छ । जापान पठाउने कार्यविधि पनि पूरा हुन नसक्दा रोजगार प्रभावित भएको छ । दक्षिण कोरियाले कामदार लिन नमान्दा प्रतीक्षामा बसेका कामदार हैरानी भएका छन् । यस्तो अवस्था कहिलेसम्म रहन्छ भन्ने कुरा नै कल्पना गर्न सकिएको छैन । अवस्था सामान्य होला र गन्तव्य मुलुकमा जाऔंला भनेर पर्खने हो भने अझै कति दिन लाग्छ भन्ने यकिन गर्न सकिँदैन । तसर्थ कूटनीतिक पहल मार्फत सुरक्षित तरिकाबाट रोजगारमा आउने जाने तर्फ सरकारी स्तरबाटै पहल गरिनुपर्छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update