Shittalpati
सद्भावकोे पर्व होली

रंगै रंगहरुसँगको पर्व अर्थात सद्भावको पर्व होली आज पाल्पा सहित पहाडी जिल्लाहरुमा मनाइदै छ । एक आपसमा माया प्रेम आत्मीयता साटासाट गरी र हर्षोल्लासका साथ यो पर्व मनाइदै छ । प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाईने यो पर्वको महत्व आजका दिनमा पनि उत्तिकै रहेको पाईन्छ । रंग दलेर एक आपसमा शुभकामना साटासाट गर्नुको मज्जा बेग्लै हुन्छ । हरेक वर्ष रंगहरुको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाई बीचमा एक आपसमा विभिन्न रंगहरु दलेर खुसियाली साटासाट गर्ने गरिन्छ । तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइन्छ । तर यस वर्ष भने कोरोना महामारीका कारण होली पर्व घरमै सिमित हुने देखिन्छ ।
सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिका प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्व मनाउने गरिन्छ । होली नेपालका साथै भारत तथा अन्य विभिन्न देशहरुमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड पनि हो । यस्तो परिस्थितीमा पर्वलाई निरन्तरता दिनकै लागि भए पनि घर भित्रै होली मनाउनु उपयुक्त हुन्छ । अन्य पर्वहरु जस्तै होली पर्व पनि संस्कृति परम्परा रितीरिवाजसँग जोडिएको हुँदा पूर्खाहरुदेखि नै एक आपसमा आत्मीयता प्रदान गर्दै यो पर्व मनाउँदै आएको हुनाले पनि यसलाई निरन्तरता दिन जरुरी छ । होलीको नाममा कसैको इच्छा विपरीत रंङ छ्याप्ने, लोला हान्ने, फोहोर पानीमा मोबिल लगायत वस्तु राखेर बाटोमा हिँड्नु चाँहि राम्रो होइन् । यस्ता गतिविधिले संस्कृतिको जगेर्ना नभई बदनामी मात्र गर्दछ । देश भित्र बसोवास गर्ने अधिकांश समुदायको साँस्कृतिक पर्वका रुपमा रहेको होलीलाई मनोरञ्जनका रुपमा मात्र मनाउँदा विकृतपूर्ण बन्दै गएको छ । यसका लागि युवावर्ग सचेत हुनु आवश्यक छ । जहाँ, जसरी मनाउने गरे पनि आखिरमा यसपर्वको उद्देश्य एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, खुसीयाली बाँड्नु नै हो । यसर्थ पर्वको नाममा भित्रिएका विभिन्न खालका नकारात्मक विकृति विसंगतिको अन्त्य गर्दै सकारात्मक सोंचका साथ निःस्वार्थ भावनाले आफ्नो घरपरिवार, आफन्त, साथीभाइ, छिमेकी एक आपसमा हाँस्दै, रमाउदै माया, प्रेम साटासाट गरेर मर्यादित तरिकाले यस वर्षको होली पर्व मनाऔं । हामीमाझ भएका नकारात्मक क्रियाकलापको अन्त्य गर्दै आपसमा आत्मीयता अझ प्रगाढ बनाऊ । जसले सभ्य मानिस सभ्य पर्वको रुपमा परिचित बनाउन सकोस् रङहरुको पर्व रंगीन होलीको सबैमा शुभकामना ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update