Shittalpati
नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा ज्ञवाली

पाल्पा, जिल्लाका सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा राधेश्याम ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको संघको तेस्रो अधिवेशनले ज्ञवालीलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो ।

ज्ञवाली तानसेन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख हुन् । उनको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति विस्तार गरिएको छ । जसको उपाध्यक्षमा दुर्गप्रसाद अधिकारी(ताहुँ), सचिवमा सुशिल न्यौपाने (पूर्वखोला),कोषाध्यक्षमा कविता नेपाल(झडेवा) रहेका छन् । यस्तै सदस्यहरुमा घनबहादुर कार्की , गणेशप्रसाद पोखरेल, प्रकाश पंगेनी र लक्ष्मण रेग्मी रहेको संघले जनाएको छ । नव निर्वाचित अध्यक्ष ज्ञवालीले जिल्लाका सामुदायिक क्याम्पसहरुको शैक्षिक र भौतिक विकासमा नेतृत्वले विशेष ध्यान दिने बताए । उनले सामुदायिक क्याम्पसहरुको स्तरउन्नतीसँगै संघलाई एक ढिक्का बनाएर लैजाने दिशामा आफु सधै सक्रिय रहने प्रतिवद्धता जनाएका छन् ।

जिल्लामा अहिले १४ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् । संघको अधिवेशन उद्घाटन नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य खिमराज घिमिरेले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका घिमिरेले देशभरका सामुदायिक क्याम्पसको गुणस्तरी शिक्षातर्फ आमविद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि संघका केन्द्रीय सदस्य देवराज ढकालले नयाँ नेतृत्वले जिल्लाका सामुदायिक क्याम्पसको शैक्षिक र भौतिक विकासमा ध्यान दिुपर्नेमा जोड दिए । त्यस्तै संघको अधिवेशनले विभिन्न निर्णय समेत गरेको छ । त्रिभूवन विश्वविद्यालयले पव्लिक क्याम्पसहरुको प्रत्येक २/२ वर्षमा गर्दै आएको संकायगत नविकरणलाई परिवर्तन गरि प्रत्येक ४/४ वर्षमा क्याम्पसगत नविकरण गर्नुपर्ने अधिवेशनले निर्णय गरेको छ । त्यस्तै विश्व विद्यालय अनुदान आयोगबाट विद्यार्थी संख्याको आधारमा प्रदान गरिदै आएको अनुदान सबै पव्लिक क्याम्पसलाई अनिवार्य उपलब्ध गराइनुपर्ने, पव्लिक क्याम्पसको शैक्षिक र भौतिक विकासमा सम्बन्धित स्थानीय सरकारले ध्यान दिइनुपर्ने जस्ता निर्णय गरिएको संघले जनाएको छ । प्राध्यापक श्रीधर कुमार उपाध्याको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो । 

 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update