Shittalpati
तानसेनमा भ्रमण वर्ष : कोरोना भाइरस र भौतिक संरचना

मदन देउराली
पर्यटन वर्ष २०२० सञ्चालन भइरहेको छ । सरकारले २० लाख पर्यटकहरु नेपाल भिœयाउने अत्यन्त महत्वकांक्षी निर्णय गरेको छ । अब हेर्न बाँकी छ २० लाख पर्यटकहरु नेपाल आउँछन् कि आउँदैनन् । किनकी यहीबेला कोरोना भाइरसको सक्रमण फैलिरहेको छ । नेपाल आउन चाहने पर्यटकहरुले आफ्नो भ्रमण धमाधम रद्द गर्दैछन्, भन्ने सुन्नमा आइरहेको छ । यस्तो स्थितिमा २० लाख पर्यटकहरु मध्ये तानसेनमा कति आउलान त ? यो पनि गम्भीर विषय बनेको छ । फेरि तानसेन आए उनीहरुलाई हामी के देखाउने र उनीहरुले के हेर्ने, उनीहरुले हेर्न चाहने संरचनाहरु हामीसँग छन् त ? के हामीले पूर्वाधार तयार गरेका छौं त ? यस्ता यस्ता अहम प्रश्नहरु यहाँ छन् । जहाँसम्म मैले थाहा पाए अनुसार पर्यटकहरु कुनै ठाउँहरुमा जानु छ भने बाटोघाटो, यातायातको सुविधा, खाने बस्ने ठाउँ, अनि त्यहाँका संरचनाहरु के –के छन् अनि के हेर्ने भन्ने कुराहरुमा अत्यन्त सचेत हुन्छन् ।

तानसेनलाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा प्रचार–प्रसार गर्न तानसेन नगरपालिकाले एक हप्ते पर्यटन महोत्सव गर्ने भनि विभिन्न उपाएहरु सार्बजनिक गरेको छ । जसबाट पर्यटकहरुको बसाई लम्बिनेछ भन्ने विश्वास रहेको छ । उपाएहरु राम्रा छन् तर कति पर्यटकहरु आकर्षित होलान् कति यो महोत्सवमा सहभागी होलान् त्यो त समयले बताउने छ  । कतिपय साना साना कुराहरुमा स्थानीय निकायको ध्यान अहिले सम्म जान सकेको छैन जस्तो लाग्छ । तानसेनलाई हिल स्टेशन बनाउने हो भने पहिला यहाँ भएका संरचनाहरुलाई नै चिटिक्क पारेर राख्नु पर्दछ । तानसेनको बनावट, यहाँको हावापानी अत्यन्त मनमोहक छ भनिन्छ । त्यसैले पनि पर्यटकहरु केही समय तानसेनमा विताउने कल्पना गर्न सक्छन तर यो बसाईको केही समय के हेर्ने कहाँ जाने भन्ने कुराहरुमा हामी सजग हुनु आवश्यक छ ।

विदेशतिर आफ्नो ठाउँमा भएका साना साना संरचनाहरु पनि सिंगारेर चिटिक्क पारेको देख्दा हाम्रोमा किन यस्तो बुद्धि नपलाएको होला जस्तो लाग्छ । हेरौं न नेपालमै सबभन्दा ठूलो मूल ढोका भनेर चिनिने शित्तलपाटीको ढोका हेर्दै नराम्रो छ । न त्यहाँ भएका झारपात उखेलिएका छन् न रंगरोगन गरि चिटिक्क बनाइएको छ । ठाउँ–ठाउँमा चर्किएको छ, अझ त्यसैको अगाडि बसेर आन्तरिक पर्यटकहरुले फोटो खिचिरहेको देख्दा आफैलाई ग्लानी भएर आउँछ । एउटा पर्यटकिय ढोका पनि रंगरोगन गर्न नसक्दा । खाली गफ मात्र भएन त यो । त्यस्तै श्रीनगरमा भएको पञ्चायतको पालामा बनाइएको पानस (टवारीवा) रंगरोगन विहिन हुँदैछन् । यस्तो प्रकारको पानस सायदै अरु ठाउँमा बनाइएको होला । यो त यूनिक हो यहाँको । तर यस्को संरक्षणतिर शायद कसैको चासो छैन जस्तो छ । कति राम्रो थियो यो पानस रंग रोगन गरी टलक्क टल्काइएको थियो त्यसबेला । अगाडि कति राम्रो फूलहरुको बगैंचा थियो खै त अहिले न त बगैंचा छ न पानस नै रंग रोगन गरिएको छ । तैपनि वनभोज गर्न जानेहरु यस्को अगाडि बसेर फोटो सेसन गरिरहेका हुन्छन्, कति राम्रो बनाईएको रहेछ के होला यो भन्दछन् ।

श्रीनगरलाई पार्कको रुपमा विकास गर्ने भनेर टन्न बजेट छुट्याइयो त्यसबेला तर अन्तमा हातमा लाग्यो सुन्ना केही तयार भएन, थोरै–थोरै बनाए जस्तो गरी तानसेनका जनताको आँखामा छारो हालियो । अचम्भ छ । अझै पनि राम्रो बनाउन सकिन्छ श्रीनगरडाँडालाई । आकर्षक योजनाहरु छन् भन्ने सुनेको मात्र छु तर के–के हुन्, कहिले बन्ने हो । त्यहाँबाट सफा मौसममा नेपालको सबभन्दा लामो हिमाल देखिन्छ भनेर भूगोलविदहरुले भनेको सुनेको छु । यहाँबाट पश्चिममा भारतको नन्दादेवी हिमाल त पूर्बमा काठमाडौंको उत्तरतिरको गणेश हिमाल देखिन्छ भन्दछन् । त्यसैले त्यहाँ चारैतिर देखिने हिमाल, लेकहरु, डाँडाकाँडा, नदिनाला, मैदान आदिको फोटो खिचेर फे्रममा नाम राखेर नेपाली अंगे्रजी भाषामा विवरण सहित सबैले देख्ने ठाउँमा राख्न सके बाहिरबाट आउनेहरुले थाहा पाउँथे कमसेकम तानसेनको तारिफ गर्थे कि । हुनत हामी तानसेनबासीहरुले समेत भन्न सक्दैनौ यहाँबाट देखिने हिमाल कुन कुन हुन भनेर भने अरुलाई त झन् के थाहा हुन सक्छ र ।

तानसेन टुँडिखेल स्तरोन्नति गर्ने भनेर मास्टर प्लानसहितको बोर्ड राखियो । बर्षाको बेला के–के नी होला जस्तो गरी ठूला–ठूला पाइप हाल्ने काम भयो तर समापनको म्याद सकिएको पनि लामै समय भयो माथिको संरचना बन्न सकेन कमसेकम सो संरचना तयार भएको भए जेष्ठ नागरिक पार्क, बच्चाहरुको पार्क कति रमाइलो देखिन्थ्यो होला, टँुडिखेल कति राम्रो हुन्थ्यो होला एउटा समय बिताउने ठाउँ बन्थ्यो होला । तर योजना नै तुहिए जस्तो छ पहिले जस्तै । पहिले पनि टँुडिखेललाई राम्रो बनाउने राजधानीको टुँडिखेल जस्तो फलामे बार लगाएर राख्ने साँझ विहान खोल्ने अरु बेला बन्द गरी राख्ने भनेर ठूलो ढोका बनाइयो संगसंगै फलाम बार लगाउन भनेर फलाम पोल पनि गाडियो केही समय फलामे बारहरु पनि अगाडि देखाइयो तर विस्तारै विस्तारै बारहरु पनि हराए । आजसम्म केही भएन । आखिर बनाउनै थिएन भने त्यो ढोका बनाएको के अर्थ भयो केवल पैसाको मात्र बरबाद हैन त । यदि त्यो बनाइएको भए टँुडिखेल कति सुरक्षित हुन्थ्यो होला । अझ आजकाल त त्यो ढोका अगाडिको वातावरण होटलको जस्तो छ । जताततै पानीपुरी, मटर समसा (छोले), आलु चटपटे पाकिरहेका हुन्छन अनि ग्राहकहरु पनि मजाले खाईरहेका हुन्छन् ।

तानसेनलाई पुरानो रुपमा देखाउन शित्तलपाटीमा, मखनटोल सडकमा ढुंगा विछ्याइदैछ तयार भए पछि राम्रो होला भन्न सकिएला कि । दरबार अगाडिको ढोका अलपत्र छ, अधुरो छ कहिले यो पूरा हुने हो । यति मात्र हैन दरबार परिसरको सबै भाग पनि ढुँगा विछ्याएर पानीको फोहरा राख्ने, राती दरबार झिलिमिलि गरी राख्ने हो भने पर्यटकहरुलाई हेर्ने एउटा गन्तव्य हुन सक्थ्यो कि । अमर नारायण परिसरमा रहेको ठूलो पोखरी बर्षो वर्षा भइसक्यो चोला फेर्न सकेन । वडा नम्बर २ को योजनामा सो पोखरीमा चारैतिर पानीका धारा बनाउने बीचमा भगवान श्री महादेवको मूर्ति राख्ने गरी बनाउने भनेर वोर्डमा योजना लेखियो तर अहिलेसम्म केही हुन सकेन । यो पनि बने पर्यटकहरुलाई भुलाउन सकिने अर्को गन्तव्य बन्थ्यो होला । अझ सकिन्छ भने तानसेनलाई साँस्कृतिक पर्यटन गन्तव्य बनाआँै । हामी कहाँ विभिन्न सांस्कृतिक सम्पदाहरु छन् । तिनीहरुलाई उजागार गर्न बाकी छन, प्रबद्र्धन गर्न बाँकी छन् ।

बराबर सांस्कृतिक कार्यकम गरी पाल्पाको संस्कृति प्रचार–प्रसार गर्ने वातावरण बनाउँ । यो पनि एउटा गन्तव्य हुन सक्छ । हो आन्तरिक पर्यटकहरु त तानसेन आइरहेका छन् तर लक्ष्य बाÞय पर्यटक हुन् । जुन नगन्य मात्रामा यदाकदा देखिन्छन् तानसेन बजारमा । त्यसैले त होटल व्यवसायीहरु, टे«किंग एजेण्टहरु, त्यति उत्साहित छैनन । तर पनि बाध्य छन् आफ्नो व्यवसाय सञ्चालन गर्न । अहिले त झन वाÞय पर्यटकहरु देखिन छोडेका छन् तानसेन बजारमा । एकातिर कोरोनाको डर अर्कोतिर हेर्ने संरचनाहरु नभएकाले पर्यटकहरु तानसेन आउन करिब करिब छोडिसकेका छन् जस्तो छ । यस्तो अवस्थामा वाÞय पर्यटकहरुको आशा गर्नु कहीं आस गरे, भर नपरे त नहोला । त्यसैले पनि पर्यटनको विकास गर्न अझै धेरै बाँकी छ । अस्तु ¤
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन्।)

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update