Shittalpati
‘लकडाउन’ होइन, स्वास्थ्य मापदण्ड पालना गरौं

छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ । अन्य छिमेकी देशहरुले कोरोना नियन्त्रण गर्न भन्दै केही स्थानमा लकडाउन समेत गरेको अवस्था छ । नेपालमा पनि लकडाउनको हल्ला चलिरहेको छ । हल्ला चल्नु पनि स्वभाविक नै हो । यस अघि पनि कोरोनाको महामारी नियन्त्रणका लागि सरकारले चैत्र ११ देखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो । त्यसकारण पनि पुनः कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन हुने होकी भनेर आमजनमानसमा शंका उत्पन्न हुनुलाई अन्याथा लिनु हुँदैन ।
कोरोना भाइरस संक्रमणको केस नेपालमा भने पहिलोपटक माघ १० गते पाइएको थियो । त्यसको दुई महिनापछि कोरोनाको दोस्रो संक्रमण पुष्टि भए लगत्तै देश लामो समयसम्म बन्दाबन्दीको यातना भोग्न बाध्य भएको थियो । विगत केही हप्तादेखि भारतमा कोरोेना केसहरु उकालो लागिरहेका छन् । त्यहाँ बढ्दै गएको संक्रमणको दरले नेपालमा प्रत्यक्ष रुपमा प्रभाव देखाउँदै पनि गएको छ । एकअर्को देशबीच रहेको खुला सीमाका कारण निर्वाध रुपमा मानिसहरुको आवत जावत बढ्नाले नेपाल कोरोनाको दोस्रो लहरबाट प्रभावित हुने खतरा त्यत्तिकै छ । कोरोनाप्रति हाल देखिएको लापरवाही भोलिका लागि खतराको घण्टी नबनोस् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित ‘मिडिया ब्रिफिङ’ मा संक्रमितको संख्या उच्च हुन गएमा ‘लकडाउन’ गर्नुपर्ने अवस्थासमेत आउन सक्ने चेतावनी दिएको छ। स्थिति नियन्त्रण बाहिर जाने देखिएमा संक्रमण–चक्र रोक्न लकडाउन अन्तिम विकल्प भए पनि अहिल्यै सरकारको ध्यान यसतर्फ केन्द्रित हुनु हुन्न् । दैनिक संक्रमित संख्या देशभरमा २ सयभन्दा तलै रहेको हालसम्मको अवस्थामा रोकथामका सम्पूर्ण तयारी कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ, लकडाउनको घोषणातर्फ होइन। लकडाउनका कारण देशको आर्थिक जीवनदेखि आममानिसको जीविकासम्ममा लकडाउनले कति असर पार्छ भन्ने कुरा यस अघिको लकडाउने पनि सिकाइसकेको छ । हिजोका दिनको समिक्षा गरेर मात्र अगाडि बढ्नु उत्तम हुन सक्छ । बरु सरकारको सम्पूर्ण ध्यान संक्रमण बढ्नै नदिनेतर्फ केन्द्रित हुनुपर्छ । त्यसका निम्ति जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्न लगाउनुपर्छ र यसबारे पुनः जनचेतनामा जोड दिइनुपर्छ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update