Shittalpati
पाल्पामा स्वास्थ्य मापदण्डमा कडाइ, मास्क नलगाई हिड्नेलाई कारवाही गरिने

पाल्पा,भारत लगायत छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि पूर्वसावधानी अपनाउन थालिएको छ । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कार्यन्वयनमा कडाइसँगै पूर्वसावधानी अपनाउन थालिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैंठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कार्यन्वयनमा कडाइ गर्ने निर्णय गरेको छ । मास्क नलगाउने, भौतिक दूरी कायम नगर्ने लगायत स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना नगर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । उनका अनुसार मास्क नलगाई हिँडने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० अन्तर्गत कारवाही गरिने छ । भौतिक दूरीलाई व्यवस्थित गर्ने , सार्वजनिक स्थानहरुमा साबुन–पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ पाण्डेले बताए । यस्तै, बैंठकले होली पूर्णिमा लगायत मेला, जात्रा, महोत्सव, वार्षिकोत्सव, भेला, जुलुस तथा र्‍याली जस्ता भीडभाड हुने कार्यक्रम नगर्न अपील गरेको छ । कोरोना संक्रमितको उपचार र व्यवस्थापनका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री अभाव नहुनेगरी व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई अनुरोध गर्ने बैंठकले निर्णय गरेको छ ।

यस्तै, बैंठकले जिल्लामा राती नौ बजेदेखि कुनै पनि होटल, रेष्टुरेण्ट, तथा मदिरा बिक्री वितण गर्न नपाइने निर्णय गरेको छ । पाल्पामा मौज्दात रहेका कोरोना विरुद्धको खोप जिल्ला प्रवेश नाकामा रहेका बस्तीमा छुट भएका लक्षित समूहका व्यक्ति, शिक्षक, सवारी चालक र सहचालकलाई लगाइने बताइएको छ । भारतसहित तेस्रो मुलुकबाट आएका व्यक्ति क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । भारत तथा तेस्रो मुलुकबाट आएका कुनै पनि व्यक्ति संक्रमित भए स्थानीय सरकारले निर्माण गरेको आइसोलेसनमा बस्नु पर्ने जनाइएको छ । कोभिड–१९ संक्रमण थप फैलन नदिन स्थानीय सञ्चार माध्यमसँग समन्वय गरेर चेतनामुलक सन्देश प्रकाशन तथा प्रशारण गरिने पनि बैंठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update