Shittalpati
डढेलो नियन्त्रण चुनौतीपूर्ण बन्दै

चैत लागेपछि आगोलागीका घटनाहरु दिनप्रति दिन बढ्दै गएका छन् । विशेषतः फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन् । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो । पछिल्ला केही दिन यता गुल्मी र पाल्पाका विभिन्न स्थानमा आगोलागी भइरहेका छन् । पाल्पाको तानसेनस्थित श्रीनगर वन र गुल्मी इस्माका केही भागका वनमा भीषण आगोलागी भएका समाचारहरु आइरहेका छन् । चैतको मध्य अवधिभित्रमै देखिएका यस्ता ठूला घटनाहरु आगामी दिनमा थप यसरी नै बढ्दै गएको खण्डमा गर्मीयामको चरमोत्कर्षमा झन् त्यसले कुन रुप लेलार केकति क्षति पु¥याउला अहिल्यै अनुमान गर्न गाह्रो छ ।
बर्सेनि देशमा यसरी नै आगलागी र डढेलोका घटनाहरुले निरन्तरता पाइरहेका छन्, जसका कारण ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानमात्रै भएको छैन अझ कयौँका ज्यानसमेत जाने, ठूलो सङ्ख्यामा घाइते हुने र असख्याकं परिवारहरुको उठीबाससमेत भैरहेको देखिन्छ । यी घटनाबाट मुलुक जतिबेला पनि डढेलोको उच्च जोखिममा छ भन्ने पुष्टि भएको छ । यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुख्खापनको मात्रा बढ्दै गएको छ । बढ्दो सुख्खापनाले डढेलोको वास्तविक क्षति हुने समय अब आउँदैछ भन्ने संकेत गर्छ । हरेक वर्ष दोहोरिने डढेलोबाट हुन सक्ने मानवीयर भौतिक क्षतिरोक्न बेलैमा होसियारी अपनाउनु जरुरी छ । हरेक वर्ष हुने घटना मानेर यसलाई सामान्य ठान्नु हुन्न । डढेलो सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । सरकारले आगलागी र डढेलोलाई लिएर त्यसको नियन्त्रण र रोकथामका लागि कुनै प्रभावकारी उपाय अवलम्बन नगर्दा हाल देखिएको क्षति अझ थप बढ्न सक्ने देखिन्छ । वन क्षेत्रको संरक्षणका लागि वन तथा भू–संरक्षण मन्त्रालय छ, तर त्यस मन्त्रालयसँग वन डढेलो नियन्त्रण गर्नेबारेमा खास नीति तथा कार्यक्रम केही नहुनुले लाजमर्दो स्थिति निम्त्याएको छ भन्दा अन्यथा हुँदैन । चुनौतीपूर्ण बन्दै गएको डढेलो नियन्त्रणमा हरेक स्थानीय तह अब चनाखो बन्नुपर्ने छ । यदि आगो लागि हालेमा तत्काल क्षति रोक्नका लागि स्थानीय सरकारले न्यूनतम एउटा दमकल राख्ने सरकारी कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्छ । आगलागी नियन्त्रण तथा यसबाट पर्नसक्ने असरका बारेमा स्थानीय सरकारले चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ । आगलागीबाट निम्तिने घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई नै सचेत गराउनुपर्छ । यस्तो गर्न सकेको खण्डमा डढेलो नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update