Shittalpati
पर्यटक बढ्दै

कोरोना संक्रमण त्रासका कारण थला परेको पर्यटन क्षेत्रमा पछिल्ला दिनमा केही सकारात्मक गतिविधि देखिन थालेका छन् । मुलुकभर पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ भने नयाँ गन्तव्यको पहिचान र प्रचारसमेत हुन थालेको छ । आन्तरिक पर्यटनको विस्तार हुनुमा कोरोना भाइरसको सन्त्रास तथा लकडाउनले उकुसमुकस भएका नेपालीको घुम्ने चाहना तथा त्यसमा सामाजिक सञ्जालले पनि योगदान पुर्‍याएको देखिन्छ । कोरोना महामारीले आक्रान्त बनेका लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लुम्बिनी प्रदेशका लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, रानीमहल, श्रीनगर, नरपानी क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढेको छ ।पर्यटककै आसमा व्यापार सुरु गरेकालाई केही राहत मिलेको छ । गत कात्तिक देखि नै सामान्य रूपमा होटल, रेस्टुरा सञ्चालन भएका थिए । तर, पर्यटक आएका थिएनन् । पछिल्ला केही महिनामा यो संख्या बढ्दै गएको छ । पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक पुग्न थालेका छन् ।


पाल्पाको भैरवस्थान, ऋषिकेशव मन्दिर,रुरुधाम, पाल्पा दरबार संग्रहालय, रानीमहल जस्ता क्षेत्रमा दिनहुँ पर्यटकको घुइँचो लाग्न थालेको छ । उता लुम्बिनीमा पनि आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । विशेषगरी पर्वतारोहण र पदयात्रामा देखिएको आकर्षणले आशाको सञ्चार गराएको छ । राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्ये एक मानिने यो क्षेत्रलाई चलायमान बनाउन सकिएमा धेरै तर्फबाट फाइदा लिन सकिन्छ । सुरक्षा संवेदनशीलतालाई ख्याल राखेर सुरक्षित तवरबाट विस्तार गरी पहिलेकै लयमा फर्काउनेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ । बाह्य पर्यटक आगमन सहज नभएपनि आन्तरिक पर्यटकले पर्यटन क्षेत्र चलायमान बनाउनुलाई सकारात्मक रूपमा लिएका छन् । यद्यपि, आन्तरिक पर्यटकको चहलपहल भए पनि समग्रमा आर्थिक क्षेत्र भने चलयमान हुन सकेको छैन । कोभिड–१९ को मारमा परेको पर्यटन क्षेत्रमा तत्काल विदेशी पर्यटक नआएपछि स्वदेशीकै भर पर्नुपर्ने अवस्था छ । यद्यपि, स्वदेशीकै भरमा पर्यटन क्षेत्र धान्नसक्ने अवस्था भने रहने देखिदैन । शून्य अवस्थामा रहेको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटक बढेजस्तै देखिए पनि यसले पर्यटन व्यवसाय नै धानिने अवस्था भने नदेखिएको हो । अहिले आरोहणबारे सुखद सञ्चार गराउन सकिएमा सन् २०२१ को वसन्त ऋतुमा आरोहणमा थप मद्दत पुर्‍याउन सकिनेछ । तसर्थ अल्पकालीन र दीर्घकालीन सोच राखेर कोभिड– १९ ले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update