Shittalpati
क्षयरोग दिवसको सार्थकता

हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । ‘द क्लक इज टिकिंग’ अर्थात ‘समय बितिरहेको छ’ भन्ने नारा सहित यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग स्वासप्रश्वासको माध्यमबाट सर्दछ । यो रोग नियन्त्रणमा उपलब्ध स्रोत र साधनको समुचित परिचालन गरि वर्तमान अवस्थामा नेपालले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड पुरा गर्दै आएको छ ।


हाल क्षयरोग प्रति समाजमा रहेको नकारात्मक धारणामा समेत विस्तारै परिवर्तन हुँदै आएको छ । यो सफलता हासिल गर्न बहुआयमिक प्रयासबाट मात्र सम्भव भएको छ । संसारबाट क्षयरोगलाई समाप्त गर्ने राणनीतिको साथ नेपाल सरकारले विभिन्न गतिविधि गर्दै आइरहेको छ । विश्व स्वास्थ्य संगठनको अगुवाईमा विगत केही बर्षदेखि क्षयरोगका व्यापकता र महत्वलाई जनता सामु उजागर गर्न र सम्पूर्ण सरोकारवालाहरुको ध्यानआकृष्ट गरि कार्यक्रमको प्रभावकारिता बढाउन हरेक बर्ष २४ मार्चमा विश्व क्षयरोग दिवस मनाउँदै आइएको छ । तर यो दिवसले भने सार्थकता पाउन सकिरहेको छैन । दिवस भनेपछि सबैलाई भित्ते पात्रो हेरेर बस्न मन लाग्छ । अरू केही नगरे पनि हरेक दिवसमा केही नयाँ प्रकृतिका काम कुरा राखेर सोसल मिडिया रंगीन बनाउन मनपर्छ । दिवस किन मनाउने भन्ने विषयमा केही चासो हुँदैन । दिवस मनाएर कति परिमाण र कति परिणामको उपलब्धि हासिल भयो भन्नेबारेमा मापन हुँदैन । हामी दिवस मनाउनुमा मात्रै व्यस्त हुन्छौं । दिवस मनाउनु राम्रो हो । तर कसरी मनाउने भन्ने कुराले विशेष महत्व राख्छ । चर्चाकै लागि, अरूको वाहवाही पाउनकै लागि मात्र दिवस मनाउनुले भने अर्थ राख्दै । वर्षमा एक दिन अन्तर्राष्ट्रिय क्षयरोग दिवसमा विभिन्न संघसस्थाहरुले सचेतनाका कार्यक्रमहरु आयोजना गर्दछन् तर यसले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । दिवस मनाउनुले त उपलब्धी हाँसिल गर्न सक्नुपर्छ । तथ्यांकमा फरक पार्न सक्नुपर्छ । तब मात्र दिवस मनाउनुको सर्थकता रहन सक्छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update