Shittalpati
कोरोनालाई खेलाँची नठानौं

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सक्रमणको अवस्था केही मात्रमा घट्दै गए पनि पुनः उकालो लाग्न थालेको छ । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो । छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन गरेको अनुरोध आफैमा सकरात्मक छ । सभा, जुलुस,र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मुलुकमा संक्रमित संख्या थोरै मात्रमा बढे पनि यसप्रति सबै सचेत हुन आवश्यक छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न । खासगरी, पछिल्लो समय भारतमा जुन रूपमा संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामीले थप सजगता अपनाउन जरुरी छ । भारतमा देखिएको संक्रमणको अवस्थाले पनि नेपालमा थप जोखिम रहन सक्ने आंकलन गर्न सकिन्छ । गत वर्ष हामीकहाँ केही भएको छैन र हुँदैन होला भन्दाभन्दै संक्रमण फैलिन पुगेको थियो ।
 

त्यो कुरा हामीले कदापी विर्सनु हँदैन । सबैले कोरोनाको दोस्रो लहर फैलिन नदिनका लागि विशेष सतर्कता अपनाउनु पर्दछ । नेपालमा चैत महिना यता दैनिक संक्रमितको संख्या पुनः सयभन्दा माथि चढ्न थालेको छ । पछिल्लो तथ्यांकलाई हेर्दा पनि जोखिम थप बढ्न सक्ने आंकलन गर्न सकिन्छ । छिमेकी देश भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । आइतबार एकै दिन करिब ४४ हजार संक्रमित थपिएका छन्। संक्रमणकै कारण कतिपय क्षेत्रमा पुनः ‘लकडाउन’, रेस्टुरेन्ट–सिनेमा बन्द, रात्रिकालीन कर्फ्युजस्ता उपाय अपनाउन थालिएका छन् । मास्क नलगाउँदा र व्यक्तिगत दूरी कायम नराख्दा यस्तो अवस्था निम्तिएको विज्ञहरूले बताएका छन् । नेपालमा पनि यस्तो अवस्था आउन नदिनेतर्फ सम्बन्धित सबै सचेत रहनुपर्छ । कोरोना भाइरस आफैमा खतरनाक भाइरस हो । यसर्थ पनि कोरोनासँग कुनै पनि हालतमा खेलाँची गर्नु हुँदैन ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update