Shittalpati
पाल्पामा शिक्षक परीक्षामा धाँधली भएको गुनासो

रामचन्द्र रायमाझी

पाल्पा, शिक्षक परीक्षामा धाँधली भएको पाइएको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको पाइएको हो ।

गत विहीबार नेपाली विषयको नि.मा.वि राहत शिक्षकका लागि लिइएको परीक्षामा आफ्ना निकट व्यक्तिलाई राख्ने नियतमा परीक्षामाथि नै धाँधली गरिएको परीक्षामा सहभागीहरुले गुनासो गरेका छन् । नियमको उलङ्घन गर्दै बहुवैकिल्पक प्रश्नमा उत्तरकुञ्जिका नै नदिई रेजा (चिन्ह) लगाउन भन्दै त्यसमा परीक्षार्थीको नाम समेत लेख्न बाध्य बनाइएको परीक्षामा सहभागी विद्या बस्यालले बताईन् । उनले भनिन्‘ शिक्षक सेवाले लिने परीक्षा होस् वा लोकसेवा र अन्य सरकारी निकायले लिने परीक्षा नै किन नहोस् कोडिङ्ग प्राणालीबाट लिने गरिन्छ तर यहाँ त कोडिङ्ग प्राणानी नै नअपनाई उत्तरपुस्तिकामै परीक्षार्थीको नाम लेख्न लगाइयो, यो सरासर आफ्नो निकट व्यक्तिलाई राख्ने नियतले गरिएको प्रपञ्च हो ।’ बहुवैकल्पिक प्रश्नहरुमा उत्तरकुञ्जिका नदिई जानेका प्रश्नहरुमा मात्र रेजा लगाउनु र पुस्तिकामा नाम लेख्न भन्नुले शंका गर्ने ठाउँ रहेको परीक्षार्थी बस्यालको भनाई छ ।

विद्यालयका प्रअ, विषय विशेषज्ञहरुको मिलेमतोमा परीक्षामा धाँधली गरिएको अर्को परीक्षार्थी पावर्ती पाण्डेले बताईन् । उनले नियम विपरित परीक्षा सञ्चालन गर्दा दक्ष र सक्षम परीक्षार्थी बाहिरिनु परेको गुनासो गरिन् । विद्यालयले गत वर्षको मंसिरमा शिक्षकका लागि आवेदन माग गरे पनि विषय विशेषज्ञ छनौटको विवादका कारण दुई पटकसम्म परीक्षा स्थगित गर्दै आएको थियो । अहिले सो परीक्षा चैत ५ गते लिइएको हो । शिक्षकका लागि १७ जनाले आवेदन दिए पनि बेला बेलामा भएको विवादका कारण परीक्षा स्थगित हुँदै आएपछि अन्तमा ९ जनाले मात्र परीक्षा दिएका थिए ।

परीक्षामा योग्य र सक्षम व्यक्तिलाई पाखा लगाउदै आफु निकटका व्यक्तिलाई नियुक्त गरिएको परीक्षार्थीहरुको गुनासो छ । उनीहरुले विद्यालयका प्रअ विमला न्यौपाने गैरे, गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनाल र विषय विशेषज्ञहरुको मिलेमतोमा केशरी गैरेलाई शिक्षकमा नियुक्त गरिएको बताएका छन् ।

परीक्षार्थीहरुले खुल्ला तवरबाट लिइएको परीक्षा धाँधली भएको भन्दै नतिजा छानविन गर्न समेत माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष नतिजा छानविन गर्न माग गर्दै पत्र पठाएका छन् । सम्पूर्ण परीक्षार्थीहरुको तर्फबाट विद्या न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा विवादका कारण पटक–पटक स्थगित हुँदै आएको परीक्षा चैत ५ गते १० बजे भनिए पनि ढिला गरी दिउँसो १ बजे मात्र सुरु गरिएको, बहुवैकिल्पक प्रश्नमा उत्तरकुञ्जिका नदिई रेजा (चिन्ह) लगाउन भन्दै त्यसमा परीक्षार्थीको नाम लेख्न समेत बाध्य पारिएको जनाइएको छ । ‘प्र.अ.का श्रीमान र परीक्षमा उर्तिर्ण गराइएकी केशरी गैरेको श्रीमान दिनभर परीक्षा केन्द्रमा कर्मचारी भन्दा बढी अधिकार लिए जसरी विषय विशेषज्ञहरुसँग सँगै रहेको र उनीहरु सहित गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनराम खनाललाई परीक्षाका बारेमा जिज्ञासा राख्दा अमानविय र तुच्छ भाषामा अदालत र प्रशासनमा जानका लागि धम्कीपूर्ण भाषाले आफुहरुलाई अत्यन्त दुखी बनाएको’ पत्रमा भनिएको छ । यस विषयमा बुझ्नका लागि विद्यालयका प्र.अ. गैरे र शिक्षा शाखा प्रमुख खनाललाई सम्पर्क गर्न खोज्दा फोन नै उठाएनन् ।

पिडित परीक्षार्थीहरुले असल नेपाली नागरिक भएको हैसियतले कर्मचारीको मनपरी शैलीमा भएको परीक्षा छनौट प्रक्रिया रद्द गरी संलग्न कर्मचारीहरुलाई कानुनी कारवाही गर्न र स्वच्छ तथा धाँदलीरहित परीक्षा पाल्पामा स्थापित गराउन प्रमुख जिल्ला अधिकारी समक्षा माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले भने प्रारम्भिक अनुसन्धानका लागि शिक्षा विकास समन्वय इकाईमा परीक्षाको विषयमा सम्पूर्ण विवरण खुलाई पत्र पठाउन निर्देशन दिएको बताए । यसको विस्तृत अध्ययन, अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धानले गर्ने भएकाले आफुले प्रारम्भिक अनुसन्धान गर्ने प्रजिअ पाण्डेको भनाई छ ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका इकाई प्रमुख रमेशराज पौडेलले भने परीक्षामा कुनै पनि किसिमको धाँधली नभएको बताए । उनले भने‘ बहुवैल्किप प्रश्न सोधिने परीक्षाका लागि उत्तरकुञ्जिका तयारी गरिए पनि परीक्षार्थीलाई दिन नमिल्ने र यसमा कोडिङ्ग प्राणाली लागु हुँदैन ।’ उनको यस्तो प्रतिक्रियाले इकाई प्रमुख पनि घटनामा संलग्न रहेको परिक्षार्थीहरुले आशंका गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update