Shittalpati
गिरिजाप्रसाद कोइरालाको योगदान अनुसरण गरौं

निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको ११ वर्ष पुगेको छ । २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद कोइराला । उनको स्मरणमा शनिबार देशभर जीपी कोइराला फाउण्डेसनले कार्यक्रम गरी गिरिजाप्रसादलाई सम्झिए । पार्टीका उच्च तहका नेताहरूलाई स्मरण गर्नु आफैमा राम्रो पक्ष हो । पार्टीको बृहत्तर हितभन्दा हाम्रो स्वार्थमाथि हुनु हुँदैन । इतिहासले कोइरालाको ओहोदालाई भन्दा योगदानलाई स्मरण गरिराखेको छ । यो सकरात्मक हो । लामो समय पार्टी नेतृत्व हाँकेका गिरिजाबाबुलाई काँग्रेसमा कार्यकर्तालाई एकतावद्ध राख्ने र माया गर्ने कुशल नेताका रुपमा चिनिन्छ । तथापी उनलाई काँग्रेसमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछिको रोलक्रममा राखिएपनि उनको विचार र हक्की स्वभावले उनी सँधै कार्यकर्तामाझ छाईरहे र त्यसैका कारण पनि गिरिजाप्रसादले पाँचपटकसम्म प्रधानमन्त्री हुने सौभाग्य मात्रै प्राप्त गरेनन् कि ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को नेतृत्व समेत लिए ।


नेपालको इतिहासमा कोइराला निडर र निर्भिक नेताका रुपमा चिनिन्छन् । चट्टानी अडानका नेताको रुपमा समेत उनलाई लिने गरिएको छ । प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्नु उनको महत्वपूर्ण योगदान रहेको छ । माओवादी शान्ति प्रक्रियामा ल्याउन उनको ठूलो भूमिका छ । सबै वामपन्थी र लोकतन्त्रवादी उनमा भरोसा र विश्वास गर्दथे । गिरिजाबाबु वास्तवमै हठी र निडर स्वभावका राजनेता थिए, जो टुट्न तयार भए तर झुक्न तयार भएनन् । त्यसैले सहमति, सहकार्य र एकता अनि शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रपात उनै गिरिजा प्रसाद कोइरालाले गरे । वास्तवमा सहमति, सहकार्य र एकता काँग्रेस, वामपन्थी र मधेसवादीबीचमा हुनुपर्दछ । यो नेपाली राजनीतिको वर्तमान कटु यथार्थ हो । तसर्थ गिरिजाप्रसाद कोइरालाको विचार र योगदानको सबैले अनुसरण गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update