Shittalpati
अनुदानको दुरुपयोग

पछिल्लो समय अनुदानका कार्यक्रमहरु धेरै आएका छन् । सरकारी संघसंस्था हुन् वा गैरसरकारी संघसस्था नै किन नहुँन सबैले अनुदानका कार्यक्रहरु सञ्चालन गरिरहेका छन् । अनुदानको सहि सदुपयोगले कुनै पनि संस्थाको सेवाप्रवाह सहज र सरल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने गर्दछ ।तर त्यही अनुदानको यहाँ सदुपयोग भन्दा पनि बढी दुरुपयोग हुने गरेको छ । जुन उद्देश्यले अनुदान लिइएको छ, तदनुकुल प्रयोग नगर्ने तथा प्रयोग गरे पनि झारा मात्रै टार्ने प्रवृत्तिले बढेको छ । यस्ता गतिविधि रोक्नुपर्छ । अनुदानस्वरुप पाएका नगद तथा जिन्सिको सदुपयोग गर्ने पद्धतिको विकास गर्नुपर्छ । विकास साझेदार निकाय, कूटनीतिक नियोग तथा दूतावासको तर्फबाट मुलुकमा विशेषगरी शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा धेरै अनुदान आउने गर्छ । 

शैक्षिक क्षेत्रका लागि धेरैजसो बस, भवन बनाउन आर्थिक सहयोग तथा छात्रछात्रालाई खाद्यान्न, कापी कलम, पुस्तकलगायत सामग्री अनुदानका रूपमा आउने गर्छन् । कृषि क्षेत्रका लागि उन्नत प्रकारको बीउविजन, औजार तथा स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स, औषधी, उपकरण जस्ता सामग्री सहयोगावापत आउने गर्छ । तर अनुदानमा दिएको सामग्रीको दुरुपयोग बढ्दो छ । यसो हुनु दुखद् हो । सरकारले किसानलाई लक्षित गरी अनुदान गाउँ–गाउँ पुर्‍याएको छ तर अनुदान लिनकै लागि कृषि फार्म खोल्ने क्रम बढेपछि न कृषि उपज उत्पादन बढेको छ, न गाउँको बाँझो जमिनले हराभरा हुन पाएको छ । अरबौं अनुदान आउने तर उपलब्धि भने शून्य हुने गरेका छन् । भारत सरकारले अनुदानमा दिएका गाडीहरु पनि नेपालमा त्यत्तिकै थन्किएर बसेका छन् । अनुदानमा दिएको त हो नि भन्ने ठानेर बसको सदुपयोगतर्फ ध्यान नदिनु स्कुलको कमजोरी त हो नै, सम्बन्धित स्थानीय तहको पनि बदमासी हो । अनुदान आफैमा राम्रो पक्ष भए पनि यसको दुरुपयोग हुँदा अरबौं रकम त्यत्तिकै स्वाहा भएको छ । यसर्थ अब अनुदान दिने निकायहरुले आवश्यकताको पहिचान गरेर मात्र अनुदान दिने व्यवस्था गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update