Shittalpati
इन्धन तस्करी रोकौं

भारतमा इन्धनको मूल्य बढी हुँदा नेपाल,भारतको सीमावर्ती क्षेत्रहरूबाट व्यापक रूपमा यसको तस्करी भइरहेको छ । तस्करीमा निगमका ट्यांकर नै प्रयोग भइरहेका समाचारहरु बाहिरिएका छन् । नेपाल आयल निगमले ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने गरेको पुष्टि भएको छ । भारतको बरौनी डिपोबाट इन्धन लिएर आउने ट्यांकरले नेपालबाट पुनः फर्किएर जाँदा भने तस्करीका लागि इन्धन भरेर लैजाने गरेको पुष्टि भएको हो । जुन निकै आपत्तिजनक छ ।
अहिले पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । भारतीय आयल निगमबाट प्राप्त हुने हप्ता हप्ताको मूल्य विवरणअनुसार नेपाल आयल निगमले अहिले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाइरहेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन हुने भनिए पनि निगमले त्यसो गरेको भने पाइँदैन । नेपाल सरकारले न त तस्करी रोक्नको लागि कुनै पहल गरेको छ न त स्वचालित प्रणालीअनुसार मूल्य समायोजन नै । भारतमा वृद्धि भएको मूल्यलाई हेरेर सोही अनुरुप नेपालमा मूल्य बढाउँदा यहाँ पर्ने बहुविध असरबारे पनि विश्लेषण गर्नु आवश्यक हुन्छ । निगमले चोरी–निकासीजस्ता तर्क दिँदै भाउ नघटाउने गरेको भए ता पनि सरकार वा सुरक्षा निकाय वा निगम आफैंले चोरी–निकासी रोक्न पहल नगर्ने तर त्यसैको बहानामा भाउ भने नघटाउने चलन पुरानै हो, जसका कारण निगममाथि सधैं शंका गर्नुपर्ने ठाउँ छ । अहिले नेपाल भारतको सिमावर्ती नाकाबाटै पेट्रोलियम तस्करी भइरहेको छ । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी भइरहेकामा भारतीय चासो निकै बढेको पाइन्छ । भारतीय सञ्चारमाध्यमहरूले नेपालबाट भइरहेको तस्करीबारे विभिन्न समाचार प्रसारण गरिरहेका छन् । यसले नेपालको छविमा नकारात्मक असर परेको छ । जर्किन र गाडीहरूमा तेल लैजाने सामान्य भए पनि आयल निगमकै ट्यांकरबाट समेत तस्करी हुनु यो संस्थागत हुन लागेको संकेत हो । यस्तो संस्थागत तस्करीको जालोमा मुलुक फस्यो भने भोलिका दिनमा यो समस्या निकै भयावह नहोला भन्न सकिँदैन । यसर्थ यस्तो तस्करी रोक्न सरकारले बलियो र व्यापक अभियान चलाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update