Shittalpati
आगलागीबाट सतर्क बनौं

गर्मी मौसम सुरु भएसँगै आगलागीका घटनाहरु बढ्ने गर्दछन् । विशेष गरी फागुन महिनादेखि जेठ महिनासम्म आगलागीका घटना बढी हुने गर्छन् । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको पाइन्छ । नेपालमा आगलागी र वन डढेलो जनधनको क्षति र पर्यावरणीय हानिको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन ।
यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुख्खापनको मात्रा बढ्दै गएको छ । बढ्दो सुख्खापनाले आगलागीको वास्तविक क्षति हुने समयलाई संकेत गर्छ । हरेक वर्ष दोहोरिने आगलागीबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न बेलैमा सर्तकता अपनाउनु जरुरी छ । हरेक वर्ष हुने घटना मानेर यसलाई सामान्य ठान्नु हुन्न । आगलागी सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । वर्सेनि देशमा आगलागीका घटनाहरुले निरन्तरता पाइरहेका छन् । अहिले पनि त्यो क्रम सुरु भइसकेको छ । नेपालका विभिन्न स्थानमा आगलागीबाट ठूलो भौतिक क्षति भएका समाचारहरु बाहिर आइरहेका छन् । आगलागीबाट ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानमात्रै भएको छैन, कयौँका ज्यानसमेत जाने, ठूलो संख्यामा घाइते हुने र असंख्या परिवारहरुको उठीबाससमेत भैरहेको देखिन्छ । सहयोग र राहतका सामग्रीहरुमा समेत त्यस्ता पीडित व्यक्ति, परिवार तथा समूहहरु माथि सक्दो भेदभाव हुने गरेको छ । आगलागीले विस्थापित हुन पुगेका परिवारहरुको उचित तरिकाले पुर्नस्थापना नभएसम्म त्यस्ता दर्दनाक र पीडादायक घटनाहरुको पुनरावृत्ति बढ्दो क्रममा हुनेछ । आगलागी र डढेलो राष्ट्रिय विपत्तिको प्रमुख कारण बनिरहेको यस्तो अवस्थामा सरकार भने उदासीन देखिनु दुखद् हो । सरकारले आगलागी र डढेलोलाई लिएर त्यसको नियन्त्रण र रोकथामका लागि कुनै प्रभावकारी उपाय अवलम्बन नगर्दा ठूलो क्षति बेहोर्नु पर्दछ । यसर्थ अगलागीका घटना हुन नदिन सरकार र सम्बन्धित निकाय बेलैमा सजग र सतर्क बन्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update