पाल्पा,गत साता सिन्धुलीबाट सरुवा भएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पाली पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार जिल्लाको सम्पूर्ण अवस्था बुझ्नका लागि प्रजिअ पाण्डेले पत्रकारसँग भेटघाट गरेका हुन् ।
भेटघाट कार्यक्रममा सहभागी अधिकांश पत्रकारले जिल्ला प्रशासनका कर्मचारीहरुले टिपरवालाहरुसँग मिलेर आर्थिक चलखेल गरेको खुलासा गरेका छन् । उनीहरुले जिल्लामा चल्ने टिपरवालाहरुसँग मिलेर प्रशासनका कर्मचारीहरुले नै पैसा लिने गरेको गुलासा गरेका हुन् ।
पत्रकारहरुले भनेका छन् ‘जिल्लामा चल्ले टिपरहरुले यहाँका नाकाहरुमा प्रति खेपमा प्रति टिपर १ हजारका दरले बुझाउँने गरेको र त्यसरी प्राप्त रकम प्रशासनका महत्वपूर्ण व्यक्तिहरुसम्म पनि पुग्ने गरेको गुनासो आएको छ ।’ उनीहरुले सो विषयमा छानविन गरेर दोषीमाथि तत्काल कारवाही गर्न माग गरेका छन् ।
पत्रकारहरुले जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्नुपर्ने बताउँदै ट्राफिक व्यवस्थापनलाई समेत सुधार गर्नुपर्ने बताए । जिल्लामा देखा परेका शान्ति सुरक्षाका समस्याहरु र सरकारी कार्यालयमा हुने विभिन्न खाले अनियमितता रोक्नेतर्फ प्रमुख जिल्ला अधिकारीको भूमिका प्रति सञ्चारजगत आशावादी भएको उनीहरुले बताएका छन् । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले पत्रकार र जिल्लाको सुरक्षा निकायबीच समन्वय गर्दै जनमैत्री भएर काम गर्ने कुरामा कुनै पनि कसर बाँकी नराख्ने बताए । टिपरबाट गैरकानूनी रुपमा आर्थिक संकलन गर्ने गरेका गुनासा प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै, यदि यस्तो हो भने, त्यस्तालाई कारवाही हुने प्रजिअ पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।