
गुल्मी,जिल्ला प्रहरी कार्यालयले हत्या अभियुक्त सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका १४ निवासी ४७ वर्षका तुलबहादुर विकका हत्या अभियुक्त गुल्मीदरवार गाउँपालिका १ का ३१ वर्षका पोमबहादुर घर्तीलाई प्रहरीले सार्वजनिक गरेको हो । अभियुक्त घर्तीले गत माघ ३ गते गुल्मी दरवार गाउँपालिकाको १ ओरेवा खोलामा घाँस काट्न गएका बिकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।
हत्या गरी गाउँमै रहेका अभियुक्त घर्तीलाई ५७ दिनपछि मात्रै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।
अभियुक्तले हत्या गरेर पहिले नै भन्न खोजे पनि आट नगरेको प्रहरीले जनाएको छ । हत्या गर्ने अभियुक्तले सिकार खेल्ने क्रममा बन्दुक प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त घर्तीको बयानकै आधारमा आइतबार नै जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक पनि फेला परेको छ ।
–पत्रकार अनिल खत्रीबाट