
पाल्पा, तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।
१० दिनसम्म सञ्चालन भएको तालिममा २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा लुम्बिनी प्रदेशका तालिम प्रमुख यमबहादुर केसीले परम्परागत शिक्षाको अन्त्य गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । उनले परम्परागत ढाँचाबाट अध्ययन अध्यापन गर्दा त्यो व्यवहारिक र उपयोगी नहुँने हुँदा प्रविधिको प्रयोग अनिवार्य भएको बताए । प्रमुख केसीले विद्यार्थीहरुको भविष्य बारे शिक्षकहरु उत्तरदायी बन्नु पर्ने र आफ्नो पनि पेशागत वृत्ति विकासका लागि तालिमको सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले समाज परिवर्तनका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने भन्दै इमान्दार भएर आफ्नो पेशामा लाग्न प्रशिक्षार्थीलाई आग्रह गरे । समापन समारोहमा प्रशिक्षक गोपालप्रसाद बस्याल, शिक्षा तालिम केन्द्रका प्रशसान सहायक सुरेस बुद्धाचार्य, प्रशिक्षार्थीहरु विष्णु कुंवर पौडेल, विष्णुप्रसाद आचार्य लगायतले तालिम उपलब्धिमूलक भएको बताए । तालिममा शिक्षा तालिम केन्द्रका प्रशिक्षक गोपालप्रसाद बस्याल र माधवप्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।