Shittalpati
‘प्रहरी र नागरिकको सम्बन्ध सदृढ  बनाउँछौं’

गुल्मी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी) गोपलचन्द्र भट्टराईले प्रहरी र नागरिकहरु बीचको सम्बन्ध सुदृढ बनाएर जाने बताएका छन् ।केही दिन अघि सरुवा भएर गुल्मी आएका प्रहरी उपरिक्षक भट्टराईले पत्रकारसँग कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताएका हुन् । उनले पत्रकारहरुसँग जिल्लाको वस्तु स्थितीको बारेमा जानकारी प्रहरी र नागरिकसँगको दुरीलाई नजिक ल्याउने काम गर्ने बताए । एसपी भट्टराईले जिल्लामा पछिल्ला केही महिनामा घटेका अपराधिक घटनाहरुले गर्दा प्रहरी र नागरिक बिच दुरी बढेको हुन सक्ने बताउँदै त्यो दुरीलाई नजिक ल्याउने काम आफ्नो मुख्य जिम्मेवारी रहेको धारणा राखेका छन् ।

कुनै पनि घटनाहरुमा सफल अनुसन्धान गर्न नागरिक र प्रहरी नजिक हुनुपर्नेमा उनले जोड दिए । जिल्लालाई शान्ति सुरक्षाका लागि आफु सधैँ तत्पर रहने भट्टराईको भनाई छ । उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा पत्रकारहरुको सहयोगको अपेक्षा गरेको बताए । पत्रकारहरुले जिल्लामा पछिल्ला केहि महिना यता घटेका तर दोषी पत्ता नलागेका जघन्य घटनाहरुमा गहिरो अनुसन्धान गर्न ध्यानार्कषण गराएका थिए । यस अघिका एसपी प्रविणलाल श्रेष्ठको सरुवा भएपछि नयाँ प्रमुखमा एसपी भट्टराई आएका हुन् । यस अघिका एसपी श्रेष्ठ गत भदौमा गुल्मी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीको रुपमा आएका थिए । तर उनले जिल्लामा पछिल्ला केहि घटनामा सफल अनुसन्धान नगरेको स्थानीयको चौतर्फी विरोध भएपछि सरुवा भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update