Shittalpati
तानसेन सरकारले दियो कन्यालाई दान !

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले पश्चिम क्षेत्रकै एक मात्र सामुदायिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालयका कन्या (छात्रा) हरुलाई सुत्नका लागि आवश्यक सामग्री सहयोग (दान) गरेको छ । छात्रावासमा रहेका विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गर्दै नगर सरकारले पहिलो चरणमा छात्रा (कन्या) हरुका निम्ती ८६ हजार ६ सय ८६ बराबरका तन्ना, सिरानी, झुल, फलामका बेड, पि फर्म र डसना १५/१५ सेट सहयोग गरेको हो ।मंगलबार एक औपचारिक कार्यक्रमका बीच नगर सरकारले कन्याहरुका लागि उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । नगर प्रमुख अशोक कुमार शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गहिरेलाई उक्त सामग्री सहितको सूची बुझाएका हुन् ।

सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख शाहीले छोरीको भविष्य सुनिश्चित गर्ने दिशामा विद्यालयले देखाएको सक्रियता अत्यन्त प्रशसंसनिय रहेको बताए । उनले छोरीलाई शिक्षा दिने विषय अझै पनि नेपाली समाजमा चुनौतीे रहेको भन्दै त्यसलाई चिर्नका लागि नगर सरकार लागि परेको धारणा व्यक्त गरे । उनले विद्यालयले एक सय जना कन्याहरुलाई छात्रावासको व्यवस्था गर्ने लक्ष्य लिएकोमा त्यसका लागि स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वि.व्य.स.का अध्यक्ष गहिरेले आफ्नो नेतृत्वमा विद्यालयको दुई कोठे पक्की भवन निर्माण गर्ने, छात्रावासको व्यवस्थापन गर्ने, संख्यात्मक र गुणात्मक रुपमा विद्यालयको शैक्षिक विकास गर्ने र विद्यालयमा यातायातको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अहिले विद्यालयको दुई कोठे पक्कि भवन निर्माण भइसकेको र अन्य बाँकी कामहरु तिव्र गतिमा अगाडि बढेको उनले बताए । कार्यक्रममा तानपा ४ का वडा अध्यक्ष गणेश बहादुर थापा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए । विद्यालयका निमित्त प्रचार्य इन्दु खनालको स्वागत, शिक्षिकका शान्ति सोमैको सञ्चालनमा कार्यक्रम भएको थियो । शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही लगायत जिल्लाका छात्रा(कन्या) हरु यस विद्यालयमा अध्ययन गर्ने गर्दछन् । २००८ सालमा स्थापना भएको विद्यालयको आफ्नै इतिहास र पहिचान रहेको छ ।

नेपाली समाजमा छोरीहरुलाई शिक्षा प्राप्त गर्न कठिन र चुनौती रहेका बेला विद्यालयले कन्याहरुका लागि छुट्टै छात्रावासको व्यवस्था गरी अध्ययन, अध्यापन गराउदै आएको छ । अहिले विद्यालयमा ३ सय ५० जना छात्राहरु अध्ययन गर्दै आएका छन् । जस मध्ये ४७ जना छात्राहरु छात्रावासमा रहेर अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ । छात्रावास पुरानो र जिर्ण बन्दै गएकाले त्यहाँ बस्ने छात्राहहरुको अध्ययनमा प्रभाव परेको भन्दै विद्यालयले छात्रावास व्यवस्थामा चासो देखाएको छ । भर्खर विद्यालय व्यवस्थापन समितिमा अध्यक्षको नेतृत्व सम्हालेका झपेन्द्र गहिरेले विद्यालयको भौतिक पूर्वधार निर्माणदेखि शैक्षिक गुणस्तर वृद्धिमा चासो देखाएका छन् । लामो समयदेखि छात्रावासमा रहेका विद्यार्थीहरुको सुत्ने, बस्ने राम्रो प्रवन्ध नभएका कारण मनोवैज्ञानिकमा समेत असर पुगेको भन्दै अध्यक्ष गहिरेले स्थानीय सरकारसँग छात्रावास व्यवस्थापनाका लागि पहल गदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update