Shittalpati
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा कुमालले जवाफ दिइन, ‘एक दिन महिला दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ । आज दिवस मनाउन गयो भने एक दिनको कमाइ हानी हुन्छ ।’ सरकारले मजदुरको होइन मालिकका लागि महिला दिवस मनाउने गरेको उनको आरोप छ ।

यस्तै आफ्नो नाम डल्ली नेपाली बताउने ५५ वर्ष हाराहारी उमेरकी एक महिला पनि तानसेनमा भारी बोक्ने काम गर्छिन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे सुनेकी नै छैनन् । ‘महिला दिवस कुन चराको नाम हो, हामीलाई थाहा छैन,’ दिवसबारे प्रश्न गर्न नपाउँदै उनले भनिन्, ‘हामीलाई त भारी मात्रै थाहा छ ।’ सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ, भने अर्कोतिर कतिपय महिला श्रमिक भने दिवस कहाँ कसरी मनाइदै छ भनेर अविज्ञता प्रकट गर्छन् । नेपालीले महिला दिवसले महिला श्रमिकको हकहितका लागि काम नगर्ने बताईन् ।

तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा गिट्टी बोक्दै गरेकी मिना सारु नाम बताउने एक महिलालाई पनि नारी दिवसले छुन सकेन् । उनी अरु दिन जस्तै सोमबार विहानैदेखि नै घर बनाउनका लागि बालुवा र गिट्टी बोक्न मै व्यस्त थिइन् । उनले भनिन्, ‘मैले निर्माण क्षेत्रमा काम गरेको लामो समय भयो । अहिलेसम्म महिला दिवस नै मनाएकी छैन । हामी जस्ता काम गर्ने गरीबलाई किन मनाउनु पर्‍यो दिवस ?’

यस्तै, रामपुरकी सविरन मियाँले पनि घर बनाउने मिस्त्री काम गर्छिन् । उनले अहिलेसम्म महिला दिवसका बारेमा सुने पनि मनाउन चाहि नमनाएको बताईन् । मियाँले भनिन्‘ महिला श्रमिकका नाममा दिवस मनाइए पनि दिवस महिला श्रमिकमैत्री हुन सकेको छैन ।’ अझै पनि ज्यालामा विभेद हुने गरेको उनको गुनासो छ । मियाँले पुरुष सरह नै दिनभर मिस्त्री काम गरे पनि ज्याला समान नभएको बताउँछिन् । पुरुषले भन्दा बढी काम गरे पनि कामको मूल्याङ्कन हँुदैन । काम नगरे साझाँ जुलो बाल्न सकिदैन त्यसैले कम पैसामा भए पनि काम गर्न बाध्य छौं उनले भनिन् । उनीहरु जस्तै जिल्लामा सयौं महिला मजदुरहरु दैनिक मजदुरी गर्दै आएका छन् । तर उनीहरु पारिश्रम भने पुरुषहरु भन्दा केही कमी पाउने गरेको बताउँछन् । यो निर्माण जन्य कार्यमा काम गर्ने महिला मजदुरको पिडा मात्र होइन अन्य क्षेत्रमा काम गर्ने महिलाहरुको पिडा पनि कम छैन । दैनिक ८/१० घण्टा सम्म काम गरे पनि मासिक ५/६ हजार रुपैयाँ मात्र पारिश्रम पाउने गरेको महिलाहरु बताउँछन् । काम गर्दा र सीप हुदाँ हुदै पनि महिलाहरुलाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद उत्तिकै कायम छ । दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलाहरुलाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइन्छ । सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा ईट्टाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् ।

सोमबार नेपाल लगायत विश्वभर १११ औं अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा पनि ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै गर्दा महिला श्रमिकको अवस्था भने दशकौँअघिकै जस्तै रहेको छ । दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने अधिकांस महिला श्रमिकलाई यो दिवसका बारेमा खासै मतलब नै छैन् । दिवसका दिन तानसेनमा भेटिएका धेरै महिला श्रमिकले दिवस नमाउने र दिवसका बारेमा चासो नै नभएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update