Shittalpati
गाउँमै सेवा पाएपछि दुर्गमका नागरिक उत्साहित

रामपुर, ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधा नहँुदा सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आएपनि कतिपयले त अन्यत्र अस्पतालमा जान झण्झट र आर्थिक समस्याले रोगसँग लडिरहन्छन् । कमैले मात्र आँखा जाँच तथा उपचारमा ध्यान दिने गरेको पाइन्छ । पाल्पाको रम्भा गाउँपालिका–५ बस्ने ६५ वर्षीय हुमबहादुर श्रेष्ठले आँखामा समस्या थाहा हुदाँ हुदैँ पनि अस्पताल आउन जान र आर्थिक अभावले समस्यासँग जुधिरहेका थिए ।

गाउँका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुरले गाउँगाउँमा आँखा शिविर सञ्चालन गरी सेवा दिएपछि उनी अहिले खुसी छन् । उनलाई आँखा जाँच गर्न एक दिनको समय बिताएर रामपुर नगरपालिका, सदरमुकाम तानसेन र भैरहवालगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । “अन्धुकारमुक्ति साकोसले गाउँ मै आएर आँखा शिविर आयोजना गरी उपचार सेवा, औषधि, चश्मा उपलब्ध गराएपछि हामीजस्ता नागरिकलाई धेरै सजिलो भएको छ, अन्धकारमुक्ति साकोसले नागरिकलाई अन्धकारबाट मुक्त बनाएको छ”, उनले खुशी हुदैँ भने ।

रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं ९ लाम्दीखोला बस्ने गीता अर्यालले गाउँमा आएर आँखा शिविर आयोजना गरी सहकारीले सेवा दिएपछि गरिव, विपन्न, अशक्त बालबालिकालाई ठूलो राहत मिलेको बताए । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिव, विपन्नको बसोबास हुन्छ, उनीहरुलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन् यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, अर्यालले भने ।

आँखा पोल्ने, चिलाउने, अक्षर पहिल्याउन नसक्ने समस्यासँग जुधिरहेकी लाम्दिखोला कै मेनुकादेवी अर्याल सहकारीले गाउँमा आएर आँखा जाँच गराउने सुबिधा दिएपछि उनको रोग निको हँुदै गएको छ । आर्थिक कारोबार सँगसँगै सहकारीले सदस्य तथा नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न स्थानमा पालिकासँग समन्वय गरी आँखा शिविर गर्ने गरेको छ । सहकारीले वर्षेनी बजेट विनियोजन गरी आँखा शिविर कार्यक्रम गर्न थालेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउन्छन् ।

बित्तिय कारोबार मात्र नभइ सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि जोड दिन थालेको छ । यस कार्यक्रमलाई निरन्तररुपमा सञ्चालन गरी नागरिकलाई सेवा दिने अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । सहकारीले पाल्पाको निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिकाका विभिन्न दुर्गम वस्तीमा पुगेर निःशुल्क आँखा जाँच शिविर गर्दै आइरहेको छ ।सहकारीले वित्तिय कारोबारलाई मात्र नभई नागरिकलाई स्वास्थ्य सेवाबाट वन्चित हुन नपरोस् भन्ने मनसायले थालनी गरेको यो कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ ।

-रासस 

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update