Shittalpati
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशका मानव अधिकारकर्मीको भेला भएको छ । नेपाल मानव अधिकार संगठनको प्रदेश परिषद् बैठकमा सहभागी हुन लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाबाट मानव अधिकारकर्मी पाल्पा आएका हुन् । संविधानमा उल्लेख भएका मानव अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले बुधबार नेपाल मानव अधिकार संगठन लुम्बिनी प्रदेशको आयोजन, संगठन पाल्पाको आतिथ्यतामा प्रदेश परिषद् बोलाइएको हो ।

बैंठकको संगठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले उद्घाटन गरेका छन् । बैंककको उद्घाटन गर्दै अध्यक्ष आचार्यले मानव अधिकारकर्मी अझ कडा रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको बताए । उनले कोभिडका कारण उद्योगी व्यवसायीहरु मारमा परेका बेला बैंकले विभिन्न बाहाना बनाएर दुःख दिने काम गरेको भन्दै बैंकको दादागीरीका विरुद्ध मानवअधिकारकर्मी बोल्नुपर्ने बेला आएको बताएका हुन् । अध्यक्ष आचार्यले बहुमत प्राप्त वर्तमान सरकारको शासन कतै हिटलरको शासनमा त जाँदैन भन्ने डर रहेकाले त्यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे । उनले वर्तमान सरकारबाटै संविधानको उलङ्घन भएको भन्दै यस्तो अवस्थामा मानव अधिकारको रक्षासमेत पूर्ण रुपमा नहुने भएकाले मानव अधिकारकर्मीको खाँचो झन् बढेको धारण व्यक्त गरे । आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लङ्घन हुँदा खबरदारी गर्ने काम संगठनको दायित्व भएको बताए । उनले कारागारका नागरिकको समेत मानवाधिकारको रक्षाका निम्ति आवाज उठाउँदै आएको आँैल्याए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले आस्थाकै आधारमा नागरिक आधारभूत आवश्यकता पाउनबाट वञ्चित हुन नहुने बताए । अर्का प्रदेशसभा सांसद वीरबहादुर रानाले नेपालमा व्यवस्था परिर्वतन भए पनि कार्यशैलीमा सुधार नदेखिएको उल्लेख गरे । उनले मानवअधिकारकर्मीहरुलाई आस्था र विचार भन्दा माथि उठेर काम गर्न आग्रह गरे ।

संविधानसभा सदस्य नारायणी शर्माले संविधानमा व्यवस्था भएको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताईन् । नेकपाका नेता धनेन्द्रराज घिमिरेले समुन्त,सु–संस्कृत समाज र राष्ट्र निर्माणमा मानवअधिकार संगठन सक्रिय भएर लाग्न आग्रह गरे । नेपाली काँग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले कांग्रेस मानव अधिकार रक्षामा सदैव प्रतिवद्ध रहँदै आएको बताए । उनले संविधान कार्यन्वयन गर्ने दिशामा मानवअधिकारर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका जिल्ला नेतृ नरमती सिंजालीले अधिकार खोज्नेले आफैबाट सुरुवात गर्नुपर्ने बताईन् । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पार्टी र विचारपिच्छे मानवअधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको औल्याए । जिल्ला न्याधिसवक्ता हरिहर पौड्यालले मान्छेले मान्छेलाई नै मान्छेको व्यवहार गर्नुपर्ने बताए । जिल्लाका उद्योगी व्यवसायीहरुको तर्फबाट पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिं कार्कीले कोभिडका कारण उद्योगी व्यवसायीहरुले आत्महत्या गर्नसम्मको अवस्था सिर्जना भएकाले त्यस ध्यान दिन मानवअधिकारकर्मीलाई आग्रह गरे । नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले सरकारले आमनागरिकहरुलाई मानवअधिकारको प्रत्याभूति दिलाउन नसकेको धारणा व्यक्त गरे । उनले नागरिकलाई अधिकारको प्रत्याभूति नदिलाउँदासम्म देशमा समृद्धि हुन नसक्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्मा, राष्ट्रिय मानवअधिकार आयोगका प्रशिक्षक दिपेन्द्रबहादुर सिं लगायतले आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा नेपालको मानव अधिकारको क्षेत्रमा अनवरत रुपमा क्रियाशील रहँदै आएका संगठन पाल्पाका संस्थापक अध्यक्ष त्रिलोचन पौड्यालाई सम्मान समेत गरिएको थियो । संगठन लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन नेपालको अध्यक्षता, संगठनका केन्द्रीय सदस्य त्रिलोचन पौड्यालको स्वागत, संगठन पाल्पाका सचिव मधुकर काफ्लेको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो । एकदिने परिषद्मा नेपालमा मानव अधिकारको अवस्था र भावी योजना, संविधानमा मानव अधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था तथा मानव अधिकारकर्मीहरुको भूमिका र दायित्व विषयमा व्यापक बहस र छलफल भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update