
पाल्पा, एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये ६ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एनजेडीलाई जानकारी दिए ।
उनका अनुसार पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले कारवाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । ट्राफिक प्रहरीले घुस दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको थियो ।