
पाल्पा, पाल्पा लगायत देशभर मगर समुदायले शनिबार हर्साेल्लासका साथ ३९औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् । पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् ।
दिवसका दिन एकिकृत मगर उत्थान समाज रामपुर र नेपाल मगर संघको संयुक्त आयोजनामा विविध कार्यक्रमहरु भए । सोही अवसरमा मगरी कला, संस्कृति, भेषभुषा र खाना प्रदर्शन गरिएको थियो । बेझाँड बजारमा र्याली सहित सांस्कृति झाँकी प्रदर्शन,विभिन्न मगरी खाना परिकारहरु प्रदर्शन, जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थी सम्मान, साथमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । दिवसको पूर्व सन्ध्यामा शुक्रबार रामपुरका युवाहरुले सद्भाव पूर्ण मोटरसाईकल र्याली समेत निकालेका थिए । समाजले मगर समुदायलाई गोलबद्ध गरी संस्कृतिको संरक्षण र प्रचार–प्रसार गर्दैै आएको छ ।
उता रम्भा गाउँपालिका ३ पिपलडाडाँमा पनि नेपाल मगर संघको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमहरु भएका थिए । संघले मगरी नाँच, मगरी खाना प्रदर्शन गरेको थियो । उक्त कार्यक्रमलाई नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति झमनबहादुर राज मगरले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बाधेन गर्दै उनले मगरहरु पछिल्लो समय निकै नै पछाडी परेकाले सबै एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन् । उनले देशभर छरिएर रहेका मगरहरु एकजुट नभएसम्म मगर समुदायहरुका कुनै पनि माग सुनिश्चित हुन नसक्ने बताए । दिवसका अवसरमा पाल्पाको तानसेन नगरपालिका,माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकामा समेत कार्यक्रमहरु भएका थिए । दिवस मनाइरहेकै बेला मगरको भेषभूषा संस्कृतिलाई झल्काउने पोशाकमा सहभागी भएका मगर समुदायका व्यक्तिहरु निकै नै उत्साहित देखिएका थिए ।