Shittalpati
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’

कृष्ण पोखरेल
पाल्पा, लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि बालसंगठनलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल बाल संगठन पाल्पाको १२ औ अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् आचार्यले यस्तो बताएका हुन् । उनले बालवालिकाको शिक्षा, पोषण, अधिकार देखी उनीहरुको मौलिक अधिकार संरक्षणका लागि बालसंघठनलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।

सांसद आचार्यले संगठनलाई जिल्लाभरको बालबालिकाको क्षेत्रमा काम गर्ने गरी क्षेत्र विस्तार गर्ने बताएका छन् । उनले भने ‘संगठनलाई पूर्ण जिम्मेवारी सहित अधिकार प्रत्योजन गरी आगामी दिनमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी नियकायको रुपमा बाल संगठनलाई परिचालन गर्नुपर्छ ।’ संगठनलाई जिम्मेवार बनाउन बजेटदेखि कर्मचारी व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने सांसद आचार्यको भनाई छ । सरकारले अहिले निष्क्रिय रहेका यस्ता सार्वजनिक महत्वका संरचनामाहरु पदाधिकारीहरुको नियुक्तिदेखि संगठनहरुलाई सक्रिय बनाउने काम समेत गर्दै आएको उनले बताए । सभासद् आचार्यले वर्तमान केपी ओली सरकारको बचाउ गर्दै सरकारले विकास निर्माणदेखि ऐन नियमको क्षेत्रमा जनमतामुखी भएर काम गरेको धारणा व्यक्त गरे । हिजोदेखि विकृती, विसंगती हटाउँदा सरकार माथि चौतर्फी आर्कमण भएको भन्दै उनले प्रायोजित रुपमा सरकारको आलोचनामा मिडियावाजी गरिएको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् डा.पुरनमान बज्राचार्यले बाल संगठनको संस्थागत विकासको लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत पहल गर्ने बताए । कार्यक्रममा संगठनका पूर्वअध्यक्ष मिनबहादुर केसी, बुद्धिप्रसाद शर्मा, बरिष्ठ पत्रकार मेघराज शर्मा, नागरिक समाज पाल्पाका अध्यक्ष बासुदेव अर्याल लगायतले बाल संगठन पाल्पाले गर्दै आएका कामहरुको बारेमा चर्चा गरेका थिए । अधिवेशन संगठनका सभापति सोमनाथ अर्यालको अध्यक्षता र सचिव नविन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

संगठनको अध्यक्षमा अर्याल

संगठनको तानसेनमा भएको १२ आंै अधिवेशनले सोमनाथ अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा गोविन्दप्रसाद नेपाल, सचिवमा नविन थापा, कोषाध्यक्षमा मिनाकुमारी जिसी कार्की, सदस्यहरुमा राजेन्द्र लिगल, छविलाल भट्टराई, शुसिला श्रेष्ठ, शिवाकुमारी गाहा, ढकेश्वर बस्याल, रामप्रसाद तिमिल्सीना चयन भएका छन् भने एक जना सदस्यलाई बाल संगठन केन्द्रले मनोनयन गर्ने छ । यसैगरी संगठनको सल्लाहकारहरुमा मेघराज शर्मा, मिनबहादुर केसी, दुर्गाप्रसाद अर्याल र बासुदेव अर्याललाई चयन गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update