Shittalpati
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी गाउँपालिकाले काम गरेको बताएका छन् । रहबास मटेरीमा रहेको महेन्द्र नरेश माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताएका हुन् । उनले भनेका छन् ‘आर्थिक अभावका कारण कोही पनि विद्यार्थी विद्यालय शिक्षाबाट बञ्चित हुन पर्ने छैन । गाउँपालिकाले शिक्षाको विकासका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढेको छ ।’
अध्यक्ष थापाले व्यवहारिक र गुणस्तरीय शिक्षालाई गाउँपालिकाले पहिलो प्राथामिकता दिएको बताए । शिक्षित व्यक्तिले मात्र समाज परिवर्तनमा योगदान दिने भएकाले गुणस्तरीय र व्यवसायिक शिक्षा प्रदानमा गाउँपालिका लागि परेको उनको भनाई छ । अध्यक्ष थापाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरुको भर्नादर वृद्धि गर्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु समेत अघि सारेको बताए । कार्यक्रममा विशिष्ट अतिथि ७ का वडा सदस्य नुरबहादुर दर्लामी, सिद्धार्थ माविका स.प्र.अ. लिलबहादुर राना, धारा देवी माविका प्र.अ. तुलानन्द साह, महेन्द्र नरेश प्राविका छकलाल चौहान, बतासचुली देवी प्राविकी बुद्धि कुमारी लाम्काहा, सरस्वती प्राविका प्र.अ. दिलबहादुर राना, रहवास स्वास्थ्य चौकीका प्रमुख भिम बहादुर राना लगायतले गुणस्तरी शिक्षा प्रदान गर्ने दिशामा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन् । विद्यालयले वडामा रहेका ५ विद्यालय बीच प्राविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, टोलस्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गर्नुको साथै मावि सञ्चालनार्थको लागि १५ जना शिक्षाप्रेमी दाताहरुलाई सम्मान गरेको थियो । त्यस्तै विद्यालयले शिक्षण सिकाईमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । कार्यक्रममा प्रअ छबिन्द्र लाल बिकले विद्यालयको ४ करोड ३५ लाख २३ हजार ५ सय ८३ बराबरको आय व्यय प्रस्तुत गरेका थिए । यस शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अध्यापन शुरू भएको उक्त विद्यालयमा १ सय ५५ जना विद्यार्थी तथा ११ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्त बहादुर बरालको अध्यक्षता, शिक्षक तौलन गुप्ताको स्वागत, सहायक प्रअ युद्धजंग पुनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update