बुटवल, बाघको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धित बाघको छालाको कारोबार गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विक रहेका छन् । पक्राउ परेकाहरु माथि प्रतिबन्धित बन्यजन्तु (बाघ) को छाला ओसारपसार तथा बिक्री बितरणको मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । बाघको पुच्छरको भागदेखी टाउको सम्मको छाला बरामद गरिएको र अनुसन्धानको लागि वन कार्यालयमा बुझाउने तयारी गरिएको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट ४ फिट ५ इन्च लम्बाई भएको बाघको एक थान छाला बरामद गरेको छ । उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाइएको छ ।