Shittalpati
रानीमहललाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्तावको सर्वत्र विरोध

रामचन्द्र रायमाझी

पाल्पा,पाल्पाको ऐतिहासिक रानीमहल दरबारलाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्तावको सर्वत्र विरोध भएको छ । नेपाल पर्यटन बोर्डले रानीमहल दरबारलाई हेरिटेज होटेल बनाउने प्रस्ताव सरकारलाई गरेपछि पाल्पामा यसको सर्वत्र विरोध भएको हो । रानीमहल दरबार ऐतिहासिक सम्पदा भएकाले यहाँ होटल चलाउन नहुने भन्दै सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले सोमबार सामाजिक सञ्जालमार्फत बोर्डले रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्तावको खुलेरै विरोध गरेका छन् । अध्यक्ष अर्यालले भनेका छन् ‘रानीमहलभित्र होटल हुँदैन, यो लाल दरबार, शंकर होटल वा राजपुतनाको दरबार होइन, ऐतिहासिकतासँग जोडिएको दरबार हो । जनताको श्रम र पसिनाले निर्मित रानीमहल खड्ग शमशेरले निर्माण गरेका हुन् । सार्वजनिक महत्वको सम्पदा हो, कसैको व्यक्तिगत वा पैत्रिक सम्पत्ति होइन । रानीमहलको सम्पदाभित्र होटल हुँदैन, हुँदै हुँदैन ।’ उनले बोर्डको प्रस्ताव फिर्ता हुनुपर्ने बताएका छन् । नेपाल रेडक्रस पाल्पाका सभापति तथा शैक्षिक व्यक्तित्व बुद्धिप्रसाद शर्माले पनि अध्यक्ष अर्यालकै पोष्टमा कमेन्ट गर्दै प्रस्तावको विरोध गरेका छन् । उनले माल पाएर पनि चाल नपाएको भन्दै यस्तो प्रस्ताव फिर्ता हुनुपर्ने बताएका छन् । सभापति शर्माले भनेका छन् ‘छिटो, सजिलो र देखिने संरक्षण र विकासको उपाय भएर होला होटल बनाउने, सुन्दै आश्चर्य लाग्ने । माल पाएर चाल नपाउने, स्मारक र सम्पदाको महत्व उजागर गर्दै होटल बनाउने योजना बन्द गर्नुपर्छ ।’ त्यस्तै अध्यक्ष अर्यालको पोष्टमा कमेन्ट गर्दै नारायण अधिकारीले पनि लेखेका छन् ‘यो भन्दा त पाल्पा दरबार ठूलो छ, धेरै कोठा छन्, पहुँचमा सहजता छ । त्यसैलाई होटेल बनाए त नाफा धेरै हुन्थ्यो, पैसै कमाउन खोजेको हो भने, हैन भने सम्पदालाई व्यापारीकरण गर्नु राम्रो हैन ।’ बोर्डले सरकारलार्ई प्रस्ताव गरेपछि पाल्पामा स्थानीय सरोकारवालाबाट विरोध भएको छ । ऐतिहासिकतासँग जोडिएको दरबार भएकाले यहाँ होटेल खोल्नु उपयुक्त नहुने सरोकारवालाहरुले बताएका छन् । तानसेन नगरपालिकाले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारीअन्तर्गत कार्य अगाडि बढाए पनि त्यहाँ होटेल खोल्ने कुनै पनि अवधारण नभएको मेयर अशोक कुमार शाहीले बताए । ‘रानीमहलको दरबार संरचनामा नै होटल बनाउने पक्षमा हामी छैनौं । माथिबाटै निर्णय गरेको भए भन्न सक्दिन’ उनले भने । होटल व्यवसायी संघ पाल्पा पनि यो प्रस्तावको पक्षमा छैन । संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले नेपालको ताजमहलको रुपमा पहिचान बनाएको रानीमहललाई होटेल बनाउन नहुने बताए । ‘रानीमहल नेपालकै ऐतिहासक स्थान भएकाले पर्यटकलाई रानीमहलसम्म पुग्ने वातावरण बनाउन आसपासमा ठूला होटेल र पर्यटकीय संरचना बनाउन सकिन्छ तर रानीमहलमै होटल बनाउनु चाहि गलत हो ।’

जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा विसं १९५४ सालमा दरवार निर्माण गर्न लगाएका थिए । सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । रानीमहलमा आकर्षक चार तले भवन रहेको छ । महलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू रहेका छन् । यो प्रस्ताव सरकारबाट स्वीकृत भएमा स्थानीय सरकार र पर्यटन व्यवसायीलाई जिम्मा दिइने बोर्डले जनाएको छ । यसबाट हुने आम्दानी र अपनत्व दुबै स्थानीय तहमा रहने जनाइएको छ । होटेलबाट प्राप्त भएको आम्दानीको निश्चित अंश भने दरबारको संरक्षण र प्रवद्र्धधनमा लगाउने बोर्डको अवधारणा रहेको छ । रानीमहलको व्यवस्थापन र संरक्षणका लागि पुरातत्व विभागले तानसेन नगरपालिकालाई २०७५ साउनमा हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update