Shittalpati
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले छोरीलाई दाइजो नभई शिक्षा दिनुपर्ने बताएकी छन् । किसान मावि र किसान बहुमुखी क्याम्पस माथागढी ४ झडेवाको वार्षिकत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले दाइजोका कारण समाजमा हत्या हिंसा बढ्दै गएकाले छोरीलाई दाइजो नदिई शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरेकी हुन् ।

उनले भनिन् ‘समाज र घर–घरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई बिहे गर्दा दाइजो होइन शिक्षा दिनुहोस्, छोरी पनि सन्तान नै हुन् त्यसैले उनीहरुलाई पनि राम्रो शिक्षा दिनुहोस् ।’ गाउँपालिकाको कार्यावाहक अध्यक्ष समेत रहेकी भट्टराईले पछिल्लो समय अशिक्षित समाजमा दाइजोकै कारण धेरै नारीहरु हत्या, हिंसाको शिकार बन्नु परेको भन्दै आफ्नो सन्तानलाई यस्ता खालका शिकारबाट अलग राख्नकै लागि भए पनि शिक्षा दिनुपर्नेमा जोड दिइन् । बिहे गरेर अर्काकै घरमा गएर गरिखाने भए पनि आफ्नै खुट्टामा उभिएर गरिखान सक्ने बनाउन शिक्षा नै आवश्यक पर्ने भएकाले छोरीलाई दाइजो नभएर शिक्षा दिनु अपरिहार्य भएकोमा उनले जोड दिइन् । ‘हामीलाई आजकलको महङ्गो शिक्षाको विषयमा थाहा नै छ, तर आमाबाबुले आफू धनको गरिब बनेर भए पनि दाइजोमा खर्चिने रकम आफ्ना सन्तानको शिक्षामा खर्चिन सक्नुपर्छ बल्ल मात्र सन्तानको अभिभावत्व निर्वाह हुन्छ’ उपाध्यक्ष भट्टराईले भनिन् । उनले गाउँपालिकाले पनि शिक्षाको क्षेत्रमा ठूलो लगानी गर्दै विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबच्चाहरुलाई विद्यालयसम्म ल्याउने काम गरेको बताइन् । उपाध्यक्ष भट्टराईले आर्थिक अभावका कारण आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउन नसकेको अवस्था भएमा गाउँपालिकामा जानकारी गराउन अभिभावहरुलाई आग्रह गरिन् । उनले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरुको भर्नादर वृद्धि गर्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु समेत अघि सारेको बताईन् । कार्यक्रममा माथा प्रहरी चौकीका प्रमुख हरिप्रसाद अर्याल, केशव खनाल, चन्द्रदेव पन्थी, नेपाली काँग्रेस माथागढीका सभापति बालकृष्ण जिसी, खेमराज न्यौपाने, कार्यपालिका सदस्य सावित्रा पन्थी, शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थी लगायतले गुणस्तरी शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गरे । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याएका क्याम्पस पूर्व प्रमुख खेमराज न्यौपाने, कैलाशकुमार जिसी र शिवप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

त्यस्तै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा सहित विद्यार्थी उत्र्तीण गराउने शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारुले विद्यालयको ४ करोड ६८ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका चुनौती र आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । क्याम्पस प्रमुख कविता नेपालले क्याम्पसतर्फको २८ लाख ४६ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसमा विद्यार्थी संख्या न्यून भएको र विश्व विद्यालयले प्रदान गर्दै आएको अनुदान समेत रोकिएको बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर दर्लामीको अध्यक्षता, शिक्षक कैलाश कुमार जिसीको स्वागत, शिक्षक देविप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update