Shittalpati
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा

कृष्ण पोखरेल
पाल्पा, समाजमा दिनहुँ बलात्कार र हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरु सडकमा उत्रिदै आएका छन् । शिक्षाको चिन्ता गर्ने समयमा सामाजिक न्याय, मूल्य मान्यता मरेपछी नारावाजी जुलुसमा विद्यार्थीहरु सडकमा उत्रिदै आएका हुन् । शुक्रबार पनि कोट, टाइ, सर्ट पाईन्ट र मुखमा माक्स लगाउदै तानसेनमा २० बर्ष उमेर समूहका विद्यार्थी, युवा युवती सडकमा देखिएका थिए । कोहि युवा, युवती चिन्तित मुद्रामा थिए । कोही चिच्चाई रहेका थिए । हामीहरुको पनि निर्मला, भागिरथीको जस्तो अवस्था हुने हो की भन्दै युवतीहरु चिच्चाउदै न्यायको माग गरेको देखिन्थ्यो । उनीहरुले सरकार बलात्कार घटनामा कति घुस खायौ ? महिला हिंसामा कति भष्ट्रचार गर्‍यौं ? भन्दै नारावाजी गरेका थिए ।

दिनहुँ महिला हिंसा, अपराधिक शैलीबाट बलात्कार तथा हत्याका घटना बढ्दै गएपछि तानसेनका विभिन्न क्याम्पसहरुमा विएसी प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरुले सरकारको ध्यान आर्कषण गराएका छन् । पाल्पाका विभिन्न क्याम्पसबाट निस्किएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो । विरोधसभामा नेपाल बार ऐसोसिएन पाल्पाकी सचिव शान्ता बस्यालले कानुन कार्यान्वयनमा सरकारको फितलो व्यवस्था, ठूला बडा बाटै कानुनको उलङ्घन, सामाजिक मुल्य मान्यता हराएकाले निर्मला, भागिरथी जस्ता सयौं बालिकाहरुको बलात्कृत पछी हत्या हुँदा समेत सरकार मुकदर्शक भएको बताईन् । विद्यार्थीले गरेको विरोध कार्यक्रममा सरकारी निकायमा कानुन कार्यान्वयन गर्न दवाव बढाउदै जनतामा महिला हिंसाको विषयमा सचेतना गराएको बारकी सचिव बस्यालले बताइन् । विरोध कार्यक्रममा विद्यार्थी अनुजा अर्याल, कृतिका देवकोटा र गिता ढकालले महिला हिंसाको विषयमा कविता बाचन गरेका थिए । विद्यार्थी उमेश भण्डारीको सभापतित्व, महिमा गैरेको स्वागत, निरज पाण्डेको सञ्चालनमा विरोध कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update