.jpg)
कृष्ण पोखरेल
तानसेन । पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको जानकारीको लागी प्रदेश सरकारले प्रताप शमशेरको शालिक निर्माण गरेको हो ।
शालिक अनावरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पर्यटनमन्त्री गिरीले पाल्पा दरवार संग्रहालय प्रदेशकै एकमात्र संग्रहालय भएकोले प्रदेश सरकार सक्रिय भएर काममा जुटेको बताए । लुम्बिनी प्रदेशका प्रमुख जाती मगर र थारुको भेषभुषा खानपान रहन सहनमा आधारित भएर सामग्रीहरु जुटाएको भएपनि अन्य किसिमका सामाग्रीहरु जुटाउने काममा सरकार लागी परेको मन्त्री गिरीले बताए । दरवार संग्रहालयको गुरु योजना अनुसार प्रदेश सरकारले बजेट छुट्टाउदै काम गर्दै जाने, प्रदेश गर्ने विन्दुमा आर्कषक गेट निर्माण गर्ने, उत्तर तर्फको मुल ढोकामा मर्मत सम्भारको लागी पुरातत्व विभागसंग सहकार्य भईरहेको मन्त्री गिरीले बताए । दरवार निर्माणकर्ता प्रताप शमशेरको योगदानलाई सबैले स्मरण गरुन्, ईतिहासबारे सबैलाई जानकारी होस् भनी शालिक अनावरण गरिएको मन्त्री गिरीले बताए ।
मन्त्री गिरीले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल संचालन भएपछी पर्यटकहरु बढ्ने भएकोले अहिलेदेखि नै प्रमुख पर्यटकीय गन्तव्यहरुसंग लिंकअप गर्नको लागि प्रदेश सरकारले जिल्ला जिल्लामा पर्यटन पूर्वाधारको काम गर्दै आएको बताए । पाल्पा पर्यटकीय हिल स्टेशन रहेकोले पर्यटकिय केन्द्रको रुपमा विकास गर्न स्थानीयवासीहरु पनि सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए । पर्यटकहरुलाई आकर्षण गर्न स्थानीयवासीहरुले अतिथी सत्कारदेखि प्याकेज तथा संस्कृतीको विषयमा जोड दिनुपर्ने बताए । पाल्पा दरवार संग्रहालयका सबै कोठाहरु संग्रहालयकै रुपमा प्रयोग गरिने मन्त्री गिरीले बताए ।
हाल पाल्पा दरवार संग्रहालयमा लुम्विनी प्रदेशका प्रमुख धार्मिक स्थानहरुको फोटो र जानकारी, नेपाल अग्रेज जितगढी युद्वका सामाग्रीहरु, पाल्पा जिल्ला बाट संकलन गरिएका पुराना सामाग्रीहरु राखिएका छन । संग्रहालयको पहिलो तलामा मगरी तथा थारु विषयका सामाग्रीहरु, दोस्रो तलामा नेपाली सेना गोरखदल गणले पृथ्वीनारायण साह देखी हालसम्मका सैनिक सम्वन्धी ऐतिहासिक तथा पुरातत्व महत्वका जानकारी राखिएको छ । आगामी दिनमा संग्रहालयमा सेनकालीन संस्कृती, जातिय संस्कृती र परम्परागत कला कौशलहरु राखिने छ । कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख डा. मोहन पौडेलले पाल्पा दरवारमा भईरहेको कामको बारेमा जानकारी गराएका थिए । पाल्पा दरवार अझै सुन्दर बनाउन कार्यालयको तर्फबाट अझ सक्रिय भएर काम गर्ने कार्यालय प्रमुख पौडेलले बताए । कार्यक्रम तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले गरेका थिए ।