
रामचन्द्र रायमाझी
पाल्पा, बैतडीको दोगडाकेदार ७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै विद्यार्थीहरुले बिहीबार तानसेनमा प्रदर्शन गरेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष नपुग्दै पुनःबैतडीको दोगडाकेदार ७ की १७ वर्षीया भागरथी भट्टले पनि त्यस्तै नियति भोग्नु परेको भन्दै पाल्पा इञ्जिनियरिङ्ग कलेजका विद्यार्थीहरुले तानसेनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यार्थीहरुले निर्मलाले तीन वर्ष पुग्न लाग्दा समेत न्याय नपाएको अब कहिले पाउने सरकार ? भन्दै सरकारप्रति खरो रुपमा प्रस्तुत भएका थिए । उनीहरुले निर्मलाको जस्तै भागरथीको पनि त्यस्तै अवस्था सिर्जना हुने होकी भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदर्शनमा विद्यार्थीहरुले भागरथीको हत्याको घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरी पिडितलाई न्याय दिन माग गरेका छन् ।
प्रदर्शन तानसेनको भगवतीटोलस्थित पाल्पा इञ्जिनियरिङ्ग कलेजबाट सुरु भई शित्तलपाटी, नारायणस्थान, टुँडिखेल, लहरेपिपल, पेट्रोलपम्प, तेस्रो सडक हुँदै शित्तलपाटीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघ सिटिइभिटीका केन्द्रीय उपाध्यक्ष प्रमोद अधिकारीले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । ‘बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउँदा घटना अपराधीको मनोबल बढेको छ,’ उनले भने, ‘यसले सरकारको उदासीनता प्रस्ट झल्किन्छ ।’ सरकारले अपराधिहरुलाई नै संरक्षण गरेर राखेकाले दिनहुँ बलात्कारका घटनाहरु बढ्दै गएको उपाध्यक्ष अधिकारीले बताए । सभामा विद्यार्थी नेताहरु केशव भण्डारी, दिपेन्द्र बूढा मगर, ज्ञानेन्द्र कुंवर लगायतले निर्मला पन्त र भागरथी भट्टका पीडित परिवारलाई न्याय दिन सरकार समक्ष माग गरेका छन् । विद्यार्थी नेता हिमानी गौतमको अध्यक्षता, विद्यार्थी पदम रावतको सञ्चालनमा कोण सभा भएको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले निर्मला र भागरथीको फोटो र ब्यानरमा न्याय कहिले पाउने ?, ‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार ?, ‘हत्यारालाई फाँसी दे, हत्या हिंसा कहिलेसम्म ? भागरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर, दिदी बहिनीहरुको सुरक्षाको ग्यारेन्टी गर, बलात्कारीलाई लुकाउने सरकार हामीलाई चाहिदैन, गृह मन्त्री कहाँ छौं ? न्याय माग्न हामी यहाँ छौं, महिलालाई नै सुरक्षा दिन नसक्ने महिला राष्ट्रपति मुर्तवाद जस्ता शब्द लेखिएका प्ले कार्ड लिएर चर्को नारा लगाएका थिए ।
कक्षा १२ मा पढ्ने भागरथी भट्ट गत बुधबार स्कुल पढ्न गएको र गत बिहीबार उनको शव बीभत्स अवस्थामा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले पनि घटनालाई शंकास्पद मान्दै अनुसन्धान थालेको छ । अहिले बलात्कार र हत्याजस्ता प्रत्येक अपराधका अपराधीहरूलाई राज्यले कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै देशभर विद्यार्थीहरु आन्दोलित भएका छन् ।